दैनिक ज्यालादारीमा रहेका वीरगंज महानगरका करिव ४ सय कर्मचारीको जागिर ´´स्वाहा“
वीरगंज, १ पुस / वीरगंज महानगरपालिकामा दैनिक ज्यालामा नियुक्त गरिएका करिव ४ सय कर्मचारीको जागिर आज बाट चट्ट भएको छ । दैनिक ज्यालादारीमा महानगरपालिकाको कम्प्युटर अपरेटर, अमिन, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, कार्यालय सहयोगी गरि करिब ४ सय कर्मचारीको जागिर चट्ट भएको हो । निर्वाचनको मुखमा महानगरपालिकामा दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटर, अमिन, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, कार्यालय सहयोगी, नगर प्रहरी र दमकल लगायतका ठाउँमा ४९७ जना कर्मचारी नियुक्त गरिएको थियो । जसमध्ये नगर प्रहरी र दमकलमा कार्यरत कर्मचारी बाहेक अन्य सबै ज्यालादारी कर्मचारीहरुको जागिर सकिएको हो ।
वीरगंज महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले हिजो एउटा सूचना जारी गर्दै नगरप्रहरी र दमकलमा कार्यरत कर्मचारी बाहेक अन्य पदमा कार्यरत दैनिक ज्यालादारी कर्मचारीलाई हटाइएको जनाएका थिए । महानगरपालिकामा गैरकानुनी रुपमा भर्ना गरिएका कर्मचारीको जागिर एउटै निर्णयबाट चट्ट भएको छ । नगरप्रहरी र दमकलमा अझै एक सयको हाराहारीमा दैनिक ज्यालामा कर्मचारी राखेको बताइएको छ । गैरकानुनी रुपमा भर्ना गरिएका कर्मचारी वापत* वीरगंज महानगरपालिकालाई मासिक एक करोडको व्ययभार थपिएको छ । महानगरपालिकामा विधि प्रकृया विपरित राखिएका अनावश्यक कर्मचारीको यो अवधिमा साढे तीन करोड व्ययभार महानगरपालिकालाई पारिएको छ ।
महानगरपालिकाको मसिर २६ गतेको निर्णयअनुसार महानगरपालिका नगर कार्यपालिकाको कार्यलय तथा महानगरपालिका अन्तरगत रहेका सबै वडा कार्यालय, स्वास्थ्य चौकी, केन्द्रमा दैनिक ज्यालादारीमा कार्यरत सबै कर्मचारीहरुलाई आज (पुस १ गते) देखि लागू हुने गरि ज्यालादारी सेवाबाट हटाएको हो । महानगरपालिकाले बारुयन्त्र तथा नगर प्रहरीमा भर्ना गरिएका दैनिक ज्यालादारी कर्मचारीहरुलाई भने हटाइएको छैन ।