वीरगञ्जको बसपार्क तथा ४० फिटे सडक क्षेत्रबाट ५ पुरुष र २५ जना महिलालाई प्रहरीले पक्राउ
अवैध रुपमा यौनजन्य क्रियाकलापमा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जबाट २९ जनालाई पक्राउ गरेको छ । वीरगञ्जको बसपार्क तथा ४० फिटे सडक क्षेत्रबाट ५ पुरुष र २५ जना महिलालाई प्रहरीले पक्राउ गरेको हो
।अवैध रुपमा यौनजन्य क्रियाकलाप हुने गरेको गुनासोको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय अन्र्तगतको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा राखेर अनुसन्धान थालिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
अवैध गतिविधि नियन्त्रण गर्न प्रहरीले चालेको कदमको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले स्वागत गरेको छ । संघका अध्यक्ष हरि पन्तका अनुसार त्यस क्षेत्रमा निगरानी बढाउनुपर्ने आवश्यक थियो ।
गलत तरिकाले होटल व्यवसाय सञ्चालन गर्दै ठगी गर्नेहरुका कारण स्वच्छ हिसाबले व्यवसाय गर्नेहरु पनि वदनाम हुने गरेको बताउँदै अध्यक्ष पन्तले अवैध गतिविधि नियन्त्रण गर्न प्रहरीलाई होटल तथा पर्यटन व्यवसायीले साथ दिने बताए ।
यसअघि प्रहरीले वीरगञ्जको लिंकरोडबाट दुई जना होटल व्यवसायीलाई नियन्त्रणमा लिएपछि नयाँ प्रहरी प्रमुख आउने वित्तिकै होटल व्यवसायीलाई दुःख दिएको भन्दै संघका अध्यक्ष पन्तले असन्तुष्टी जनाएका थिए ।