Online News Portal

प्रधानमन्त्रीले संसदमै मधेशीको अपमान गरेपछि मधेशमा आक्रोश, कांग्रेसले दियो यस्तो चेतावनी

240

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशी समुदायको अपमान गरेको भन्दै मधेशमा आक्रोश बढेको छ ।

कांग्रेस मधेश प्रदेश कार्यसमितिले बिज्ञप्ति जारी गरेर मधेशीप्रति गरिएको विभेदप्रति आपत्ति जनाउँदै ध्यानाकर्षण जनाएको छ । सभापति कृष्णप्रसाद यादवले जारी गरेको विज्ञप्तिमा मधेसहरूप्रति गरिएको अवज्ञा स्विकार्य नभएको चेतावनी दिएको छ ।

यस्तो छ विज्ञप्ति :

मिति २०७९ माघ ५ गतेका दिन संघीय संसद (प्रतिनिधि सभा) मा मधेश आन्दोलनका सहिदहरूप्रति भएको अपमानको घटनाप्रति नेपाली कांग्रेस मधेश प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ । ‘मधेश बलिदानी दिवसका अवसरमा मधेश आन्दोलनका सहिदहरूको सम्मानका लागि प्रतिनिधि सभा सदस्य सीके राउतद्वारा गरिएको मौनधारणको अनुरोधलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका कतिपय सांसद ज्यूहरूले अवज्ञा गर्नु दुःखद छ । यो घटनाबाट हाम्रा शासकहरू मधेशका शहीदहरूप्रति समेत वैरभाव राख्छन् भन्ने प्रष्ट हुन्छ ।

मधेश आन्दोलनका सहिदहरूप्रति प्रधानमन्त्री दाहाल लगायतबाट देखाइएको यो हट्टी रवैया मधेश र मधेशी जनताप्रतिको अपमान पनि हो। यो घटना मधेशीजनविरुद्ध व्याप्त विभेदपूर्ण मानसिकताको उपज हो । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहाल लगायत केही मन्त्री र सांसद ज्यूहरू आसनबाट उठ्नसमेत नउठेको घटनाले सत्ता र सत्तासिन राजनीतिक दलहरू अझै पनि मधेश आन्दोलनलाई मान्यता दिन चाहिरहेका छैनन् भन्ने बुझिन्छ ।

हिजो प्रतिनिधि सभामा भएको यो घटनाप्रति हामी दुख व्यक्त गर्दै आगामी दिनमा यस्ता विभेद र अपमानपूर्ण व्यवहार नगर्न प्रधानमन्त्री दाहाललगायत सम्बन्धीत सबैलाई ध्यानकर्षण गराउन चाहन्छौं ।

कृष्ण प्रसाद यादव

सभापति

Leave A Reply

Your email address will not be published.