Online News Portal

ट्राफिक प्रहरी असुली धन्दामा सक्रिय भएपछि वीरगंज महानगर अस्तव्यस्त

270

वीरगंज (पर्सा), १० फागुन ।
वीरगंजमा ट्राफिक प्रहरी अहिले ड्युटीको नाममा झारा टार्ने र असुली मात्रै गर्ने कार्यमा व्यस्त भएपछि ट्राफिक अवस्था भद्रगोल बन्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा अन्तर्गत वीरगंज महानगरपालिका भित्र खटेका ट्राफिक प्रहरी अहिले आफ्नो निकायको आँखामा धुलो झोक्ने मात्रै काम गर्न थालेपछि महानगरमा ट्राफिक जामको समस्या उत्पन्न भएको हो ।
वीरगंज महानगरपालिकाको घण्टाघर चोक, माइस्थान चोक, आदर्शनगर चोक, अलखियामठ चोक लगायत अति व्यवस्थत स्थानहरुमा ट्राफिक प्रहरीहरु खटाइएको छ तर त्यहाँ रहेको विटमा कुनैपनि बेला ट्राफिक प्रहरी देखिदैन । तिनीहरु ड्युटी भन्दा पनि कसरी समय विताउन सकिन्छ, भन्ने मनसायका साथ ट्राफिक जाम हुने स्थानलाई छाडी त्यस छेउछाउमा बसेर गफ गर्ने कार्य गर्न थालेपछि महानगरमा दिनुहँ स्थानीयहरु ट्राफिक जामको समस्या खेप्न बाध्य छन् ।
स्थानीयहरुको अनुसार ट्राफिक प्रहरी कहिलेपनि इमान्दारिताका साथ ड्युटी गरेको पाइँदैन । जहिले पनि ट्राफिक प्रहरी बिट खाली नै हुन्छ । त्यस छेउछाउको पसल लगायतका ठाउँमा खडा भइ गफ गरेर समय मात्रै विताउने गरेको बताए । सडक दिनभरि अस्त व्यस्त हुन्छ, जथाभावी पार्किङ्ग गरिएको हुन्छ, जथाभावी सडक क्रस गर्ने कार्य हुन्छ तर ट्राफिक प्रहरी त्यहाँ हुँदैन, अन्यत्र छेउछाउमा बसेर गफ गरि रहेको हुन्छ । तर एकैछिन कतै चेकजाँच गर्न जानुपर्यो भने हतारिएर छड्के चेकजाँचमा पुग्छ । किनभने छड्के चेकजाँचमा वैध तथा अवैध असुली दुबै हुन्छ । रकम असुली हुने ठाउँमा ट्राफिक प्रहरीको सक्रियता बढि देखिन्छ ।
अहिले महानगरको विभिन्न स्थानमा छड्के चेकजाँच कार्य तिब्र छ । खास गरेर साँझ र रातिको समयमा छड्के चेकजाँच हुन्छ । त्यो नामको लागि मात्रै चेकजाँच हो, त्यो असुली गर्ने माध्यम मात्रै रहेको स्थानीयहरुको भनाई छ । छड्के चेकजाँचको नाममा जहाँ मन लाग्यो त्यहाँ चेकजाँच शुरु गरिदिन्छ, केही असुली हुन्छ अनि जान्छ । त्यस्तै वीरगंजको पावरहाउस चोक, सिर्सिया ड्राइपोर्टदेखि परवानीपुरसम्म खटेका ट्राफिक प्रहरी असुली मात्रै गर्छन् ।
भारतबाट एकिकृत जाँच चौकी हुँदै नेपाल प्रवेश गर्ने भारतीय तथा नेपाली मालबाहक ट्रकहरुसँग ड्राइपोर्ट चोकदेखि पावरहाउस चोक, गण्डक चोक हुँदै परवानीपुर चोकम्म खटेका ट्राफिक प्रहरी वैद्य तथा अवैद्य दुबै तरिकाले असुली गर्ने गरेको छ । नेपाल मालबाहक ट्रक तथा कन्टेनरबाट ओभरलोड गरेवापत न्यून्तम रकमको रसिद काटेर देखाउने तर अवैध रुपमा भित्रिन दिनका लाग साँठगाँठ गरि मासिक रुपमा ट्राफिक प्रहरीले रकम बुझ्ने गरेको बताइएको छ ।
भारतबाट आईसिपि हुँदै नेपाल प्रवेश गर्ने ओभरलोड ट्रक, कन्टेनर, जीप, ट्याक्टर लगायतका मालबाहक गाडीबाट प्रवेश शुल्कको नाममा वीरगंजका विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरीले १ देखि २ सय रुपैया तथा ओभरलोड भनेर ५ सय रुपैया अवैध रुपमा असुल्ने गरेका छन् । यहाँ मात्रै होइन, जिल्लाको ग्रामीण क्षेत्रमा खटेका ट्राफिक प्रहरीहरु पनि अवैध रकम असुली गर्ने गरेको चालकहरुको गुनासो छ ।

Leave A Reply

Your email address will not be published.