महन्तलाई उपराष्ट्रपति बनाउन कसरत शुरु, उपेन्द्र संसद छिर्ने बाटाे खुल्ने
काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव संसद्मा आउनेगरि गृहकार्यमा लागेका छन् । राष्ट्रपतिको निर्वाचनको लागि बनेको आठ दलीय गठबन्धनमा उपराष्ट्रपति जनता समाजवादी पार्टीले पाउने समझदारी बनेको छ ।
यसअघि माओवादी केन्द्रको भागमा परेको उपराष्ट्रपति पद जसपाका अध्यक्ष यादवकै कारण उनको पार्टीले पाउने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यादवलाई संसद्मा ल्याउनको लागि उपराष्ट्रपति पद जसपालाई दिने सहमति गरेका छन् ।
यादवले उपराष्ट्रपतिमा पार्टीका संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई ल्याउने भएका छन् । यादव बारा–२ बाट निर्वाचित सांसद हुन् । रामसहायलाई उपराष्ट्रपति बनाएपछि रिक्त हुने उक्त क्षेत्रमा अध्यक्ष यादव आँफै चुनावी मैदानमा उत्रिन लागेका छन् ।
पार्टीका अधिकांश नेता÷कार्यकर्ताहरुले यादवलाई बारा–२ बाट अत्यधिक बहुमतले चुनाव जितिने अंकगणित सुनाएका छन् । यादव अहिले बारामै केन्द्रित छन् । योबीचमा मधेशकेन्द्रित दल जसपा र लोसपाबीच पार्टी एकताको पनि गृहकार्य चलेको छ । कतिपय नेताहरुले भने दुई दलबीच विगतमा पनि सहकार्य भएकोले पूनः सहकार्यमा जानुपर्नेमा जोड दिएका छन् ।
लोसपानिकट उच्च स्रोतकाअनुसार लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई उपराष्ट्रपति बनाउने र उनको क्षेत्रबाट उपेन्द्र यादवलाई जिताएर संसद्मा ल्याउनेसम्मको गृहकार्य भएको छ । यसको लागि ठाकुर र यादवबीच शीर्ष तहमा छलफलको लागि तयारी थालिएको छ । ठाकुर यसअघि राष्ट्रपतिको लागि चर्चामा थिए ।
राष्ट्रपतिको निर्वाचनको लागि उम्मेद्वारी दर्ताको दुई दिन अघिसम्मपनि ठाकुरले आफ्नो नाममा राष्ट्रिय सहमति कायम गराउन पहल गरेका थिए । उनले संसद्मा प्रतिनिधित्व गर्ने मुख्य दलका नेतृत्वसँग छलफल गरेका थिए । अन्तिममा उनी रामचन्द्र पौडेलको प्रस्तावकमा बसेका छन् । कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरुपनि ठाकुरलाई उपराष्ट्रपति बनाउन राजी छन् । यादव काठमाडौं फर्किएलगत्तै दुई नेताबीच यही विषयमा छलफल हुने स्रोतको दाबी छ।