स्वर्गद्वारीमा भारतीय पर्यटकको ओइरो
प्यूठान– जिल्लास्थित प्रसिद्ध स्वर्गद्वारी धाममा वर्षेनि भारतीय पर्यटकको ओइरो लाग्ने गर्छ । पर्यटक आगमन अनुसार यहाँ पूर्वाधार निर्माण गरिएका छैनन् । जसले गर्दा उनीहरुको यात्रा सहज बनिरहेको छैन । स्वर्गद्वारी मन्दिर विशेषगरी भारतीय र नेपाली भक्तजनको आस्थाको धरोहरका रूपमा रहिआएको छ । वि.सं.१९५२ वैशाख पूर्णिमाबाट बलेको अखण्ड महायज्ञ अहिले पनि स्वर्गद्वारीमा नियमित बलिरहेको छ । जहाँ दैनिक पूजाआजा गरिन्छ ।
अखण्ड महायज्ञमा २४ जना ब्राह्मणबाट नियमित पूजा गर्ने गरिएको स्वर्गद्वारी आश्रमका कोठारी प्रमुख वासुदेव भट्टराईले बताए । पूजाका लागि आवश्यक पर्ने घ्यू भने यहीं उत्पादन गरिन्छ । स्वर्गद्वारीको महिमा नेपालीमा भन्दा भारतीयमा बढी रहेको उनले बताए । उनका अनुसार स्वर्गद्वारी दर्शनका लागि नेपालीको तुलनामा भारतीय भक्तजन बढी आउने गरेका छन् ।
‘एक वर्षमा झन्डै ३ लाख भक्तजन स्वर्गद्वारी दर्शनका लागि आउँछन्,’ उनले भने, ‘त्यसमध्ये ८५ प्रतिशत भारतीय भक्तजन छन्। अहिलेको अवस्थामा आश्रम सञ्चालन गर्न भक्तजनले चढाएको भेटी र अन्न नै रहेको छ । नेपालीको तुलनामा भारतीय भक्तजनले भेटी बढी चढाउँछन् । अहिलेको सिजन भारतीय भक्तजनको भीड लाग्ने सिजन रहेको उनले बताए । अहिले दैनिक १० हजार सम्म भक्तजन स्वर्गद्वारी आउँछन् । अहिले नेपालका कमै आउने गरेका छन् ।
भारतीय भक्तजनकै भरमा आश्रम सञ्चालन भइरहेको आश्रमका कोठारी प्रमुख भट्टराईले बताए । ‘आश्रम अहिले भक्तजनले चढाएको भेटीबाटै चलेको छ,’ उनले भने, ‘भक्तजनमा भारतीय बढी छन् ।’ स्वर्गद्वारीमा अधिकांश भारतको उत्तर प्रदेशबाट दर्शनका लागि आउने गर्छन् । भारतीय तीर्थयात्रीहरूको आस्था र श्रद्धा बढी छ । भारतको गोरखपुर, सिद्धार्थनगर, बस्ती, गोन्डा, बलरामपुर लगायतका स्थानबाट बढी श्रद्धालु स्वर्गद्वारी आउँछन् ।
दाङको भालुबाङ हुँदै स्वर्गद्वारी पुग्न सकिन्छ । त्यसका साथै दाङको घोराहीबाट रोल्पाको होलेरी हुँदै पनि स्वर्गद्वारी पुगिन्छ । भिगृबाट १३ किलोमिटरमा स्वर्गद्वारी पुग्न सकिन्छ । साँघुरो सडकले यात्रा जोखिमपूर्ण भए पनि सडक कालोपत्र गरिएकाले यात्रा सहज हुने स्वर्गद्वारी दर्शनका लागि आउने तीर्थयात्रुहरू बताउँछन् । समय–समयमा हुने दुर्घटनाले स्वर्गद्वारीको आस्थामा आउने भक्तजनलाई असर पुर्याए पनि पछिल्लो समय कालोपत्र सडकले जोखिम कम गरेको छ ।
ठूला र बाहिरी जिल्लाका यातायातका साधनलाई स्वर्गद्वारी जान निषेध गरिएको स्वर्गद्वारी नगरपालिकाका प्रमुख टेकप्रसाद भण्डारीले जानकारी दिए । ‘दुर्घटना बढेपछि बाहिरी जिल्लाबाट आउने ठूला सवारी साधनलाई भिंगृमा रोकेर अर्काे गाडीमा जाने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘त्यसले दुर्घटनामा कमी ल्याएको छ ।’ स्वर्गद्वारी दर्शनका लागि आउने तीर्थालुलाई आश्रममै बस्ने व्यवस्था मिलाइएको छ ।
विभिन्न व्यक्ति र संघसंस्थाले धर्मशाला आश्रमलाई सहयोग गरेको स्वर्गद्वारी आश्रमका कोठारी भट्टराईले जानकारी दिए । खाने बस्ने व्यवस्था सबै आश्रमभित्रै छ । सिजनको समयमा आश्रममा खाने बस्ने व्यवस्था मिलाउनै समस्या हुने गरेको उनले बताए । वैशाख, पुस र कात्तिकमा भक्तजनको संख्या यहाँ ह्वात्तै बढ्छ । त्यतिबेला खुलाचौरमा समेत भारतीय भक्तजन बस्ने गरेका छन् ।
भारतबाट आउने भक्तजनलाई खानबस्न भन्दा दर्शनको चिन्ता बढी हुने भट्टराईले सुनाए ।
आर्थिक रूपमा आश्रम अहिले कमजोर छ । कोरोना महामारीपछि आश्रमलाई थप समस्या भएको हो । कोरोनाले भक्तजन ठप्प हुँदा आश्रमको आयस्रोत दुई वर्षसम्म रोकिएको थियो । आश्रममा त्यस बेलाको असर अझै कायमै छ । दैनिक दुई सय बढी कर्मचारीले यहाँ काम गर्छन् । एक सयको संख्यामा संस्कृत पढ्ने विद्यार्थी छन् । यहाँका ब्राह्मण, बटुक र कर्मचारी तथा गाउँलेलाई खुवाउने अन्न समय समयमा अभाव हुने गरेको छ । कोरोनाको समयमा बुटवल, भैरहवा, नेपालगन्ज, काठमाडौंलगायत स्थानमा पुगेर आश्रमले चन्दा संकलनसमेत गरेको थियो ।