Online News Portal

बाराका मतदाताको प्रश्न – सप्तरीमा हारेका उपेन्द्रलाई किन मत दिने ?

188
आफ्नो पार्टीको बलियो प्रभाव भएको बारा–२ मा संगठन नै नभएको जनमत पार्टीको उम्मेदवार शिवचन्द्र राय कुशहवाले चुनौती दिइरहेका छन्। यसअघि ३०० मतले पराजित भएका कुशहवा जिल्ला बाहिरबाट आएका र पराजित व्यक्तिलाई सहजै हराउनसक्ने बताइरहेका छन्।

त्यसैगरी सप्तरीमा जस्तै बारामा पनि सिके राउतको क्रेज बढेको देखिन्छ। सामान्यतया तराईमा महिलाहरू नौलो वा नचिनेका मान्छेसँग बोल्न खोज्दैनन्। तर कतिपय ठाउँमा पुरूष मतदातासँग कुरा गरिरहँदा महिलाहरू अघि सरेर सिके राउतलाई मत दिने बताइरहेका छन्।

पचरौता नगरपालिका–३ की विनितादेवी पटेलको यसअघि एमालेलाई मत दिए पनि यसपटक सिके राउतको पार्टीलाई मत दिने बताइन्। करैयामाई गाउँपालिका–८ नरहीचोकमा एक जना वृद्धले गएको चुनावमा जसपालाई भोट दिए पनि यसपटक जनमतलाई दिने बताएका छन्।

आफ्नो घरका सबैले राउतलाई भोट दिने उनले बताए। महागढीमाई नगरपालिका–६ की बाचीदेवी चौरासियाले पनि सिके राउतलाई भनिन्। जनमत पार्टीको उम्मेदवार को हो त भन्दा उनले बताउन सकिनन्। ‘सिके राउतले देशमा केही गर्छ। किसानका लागि काम गर्छ। नयाँ पार्टीलाई मौका दिनुपर्छ,’ उनले भनिन्, ‘उपेन्द्रले केही गल्ती गरेर त त्यहाँ हराएका हुन्। उताबाट हारेको मान्छेलाई हामीले किन जिताउने?’

सिके राउतले पनि यो उपनिर्वाचन ‘अब मधेसको नेता म हुँ’ भनेर स्थापित गर्ने ठूलो अवसर हो भन्ने बुझेका छन्। त्यसैले उनले सम्पूर्ण तागत लगाएका छन्। उनी अहिले अधिकांश समय बारामै बस्छन्। उनले निर्वाचनलाई लक्षित गरेर स्वाभिमान यात्रा चलाएका छन्। त्यसक्रममा उनी प्रत्येक वडा पुगेका छन्। टोलमा सँगै बसेर धेरैसँग चिया खान्छन्। खेतमा काम गरिरहेकालाई बोलाउँछन्। मतदातासँग सजिलै घुलमिल हुन्छन्। मन्द र मीठो मुस्कान त सिके राउतको ट्रेडमार्क नै भइहाल्यो!

मंसिरमा भएको निर्वाचनमा यो क्षेत्रमा जसपाका उम्मेदवार विजयी मात्र भएका थिएनन्, सो दलले समानुपातिकतर्फ पनि सबभन्दा धेरै मत ल्याएको थियो। उनले १३ हजार २४२ मत ल्याउँदा दोस्रो भएको दल कांग्रेसले ११ हजार १७९ मत ल्याएको थियो। तेस्रोमा एमालेको ९ हजार १९३ मत थियो। चौथोमा जनमत पार्टीको ८ हजार ८४६ मत थियो भने पाँचौंमा लोसपाको ४ हजार २२५ मत छ। अनि माओवादीको ३ हजार २५६ मत छ।

यसपालि बारा–२ मा सत्ता गठबन्धनका तीनै दल कांग्रेस, माओवादी र लोसपाले जसपालाई सघाएका छन्। जसपासहित यी तीनै दलको समानुपातिक मत जोड्ने हो भने ३१ हजार ९ सय २ मत हुन्छ। जबकि जनमत पार्टीको करिब ९ हजार मात्रै मत छ। र एमालेले आफ्नै उम्मेदवार उठाएको छ।

त्यसमाथि मंसिरको निर्वाचनमा जसपाबाटै बागी उठेर ११ हजार ४३ मत ल्याएका रामकिशोर प्रसाद यादव र कांग्रेसबाट असन्तुष्टि जनाउँदै उम्मेदवार बनेर १० हजार ७५० मत ल्याएका रवीन्द्रप्रसाद यादवले यसपालि उपेन्द्र यादवलाई नै समर्थन गरेका छन्।

पहिलो कारण, उनलाई पाँच महिनाअघि जसले सप्तरी–२ मा ठूलो मतान्तरले चुनाव हरायो, त्यही व्यक्तिका कारण बारा–२ मा पनि उनी अप्ठ्यारोमा छन्। अर्थात बारा–२ मा उम्मेदवार नै नरहेका जनमत पार्टीका अध्यक्ष सिके राउतका कारण संसद पुग्ने यादवको योजना धरापमा पर्न सक्ने देखिएको छ। यो समाचार सिधार्थअनलाइनले ७ गतेको समाचार साभार गरिएको छ।

Leave A Reply

Your email address will not be published.