सत्तामोहका लागि उपेन्द्र यादवले मधेशको मुद्दालाई तिलान्जली दिए
विक्रम सम्बत २०६३ सालको मधेश आन्दोलनबाट उठेका राजनीतिक मुद्दाहरु प्रति आफूलाई मधेशका सर्वोपरी नेता कहलाउने जसपा अध्यक्ष उपेन्द्र यादव स्वयं इमान्दार रहन सकेनन् । आत्मनिर्णयको अधिकार सहित समग्र मधेश एक प्रदेशको नारालाई अघि सारेर मधेशी जनताहरुको समर्थन र विश्वास जित्न सफल भएका उनले, कहिल्यै संविधान सभा र प्रतिनिधि सभाको सदुपयोग गरेनन् । उनकै पार्टीको नेतृत्वमा मधेश प्रदेशमा पाँच बर्ष सम्म सरकार रहेपनि मधेशको लागि केहिपनि सकारात्मक कार्य गनृ सकेनन् । पाँच बर्षमा जनमुखी काम भएन, आर्थिक अनियमितता लगायतको कार्यमा संलिप्त सरकारबाट मधेशी जनताहरुको आशा र भरोसा समाप्त भएको महसुस गरियो ।
समग्र मधेशको नारा दिने पार्टीले केवल ८ जिल्लाको मधेश प्रदेसमा मै चित्त बुझाए । न त यो पूर्वी मधेश भयो, न त मध्य मधेश नै, न त पश्चिमी मधेश प्रदेश नै भयो । धोती प्रदेशको चाहना राखेका २० जिल्लाका सोझा एवं ईमान्दार मधेशी जनता लङ्गोटी प्रदेशमै चित्त बुझाउन बाध्य भएका छन् ।
उपेन्द्र यादव, मधेश प्रदेसमा आर्थिक, सामाजिक एवं राजनीतिक रुपले सम्पन्न यादव जातिवाट आउँछन् । यादवलाई मधेश प्रदेशमा जमिनदार, सामन्त र शोषक जातिको रुपमा पनि परिभाषित गरिएको छ । सर्वाधिक जनसंख्या पनि यसै जातिको रहेको छ । उपेन्द्र यादव रातारात नेता सावित हुनुको मुख्य कारण उनको जातिय आधार पनि हो । उनी स्वयं पनि आफना स्वजातियलाई नै बढी महत्व दिने गर्दछन् । नेपाललाई गणतन्त्र घोषित गरिएपछि देशमा भएको राष्ट्रपतिको पहिलो निर्वाचनमा पनि उनले महान गणतन्त्रवादी, त्यागी, समर्पित एवं विद्धान नेता डा.राजाराम प्रसाद सिंहको ठाउँमा आफना स्वजातिय उम्मेदवार डा.रामवरण यादवलाई समर्थन गरेका थिए जबकी उपेन्द्र यादवले नै डा. राजाराम प्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवार बनाएका थिए, तिनको उम्मेदवारीको समर्थन पनि थिए ।
डा. राजाराम प्रसाद सिंहले वर्षौ सम्म उपेन्द्र यादवलाई निर्वासनमा सहयोग, समर्थन र आश्रय दिएका थिए । उपेन्द्र यादवलाई संकटको बेलामा तन, मन र धनले समर्थन गर्नेहरु एक–एक गरी पार्टीवाट फालिंदै गए । पहिलो संविधानसभा निर्वाचनमा उनको पार्टी मधेशी जनअधिकार फोरम नेपालले राम्रो प्रदर्शन गरेको थियो तर उपेन्द्र यादवको जाति अहंकारले मधेश आन्दोलनलाई तहसनहस पार्न तात्कालिन सरकारलाई सहयोगको प्रस्ताव गर्ने माओवादी सित उनले गरेको सहकार्यका कारण पार्टीका वरिष्ठ नेताहरु विजय कुमार गच्छेदार, शरदसिंह भण्डारी, जयप्रकाश गुप्ता, नन्दन कुमार दत्त र राजकिशोर यादवहरुले छुटै पार्टीको गठन गर्न वाध्य भएका थिए । उक्त नेताहरुलाई उपेन्द्र यादवको माओवादी भक्ति मन परेको थिएन ।
उपेन्द्र यादवले आफुलाई मधेशवादी नेताको रुपमा दावी गर्दा उनले उठाएका मागहरु मध्ये एउटा पनि नयाँ विषय थिएन । नेपाल सदभावना पार्टी र नेपाल सदभावना पार्टी (आनन्दी देवी) ले उठाएका मागहरुलाई नै उनले आफनो मागको रुपमा अघि सारे । वि.सं.२०६३ सालको मधेश आन्दोलनमा उपेन्द्र यादवको न त संगठन बलियो थियो न त उनको पहिचान र सम्पर्क नै व्यापक थियो । वि.सं.२०६३ सालको चैत्र महिनामा रौतहटको गौरमा माओवादीका वाईसिएल लडाकु र स्थानीय जनतावीच हिंसक झडप हुँदा २८ माओवादी लडाकु मारिएका थिए । त्यस घटनाको निम्ति रौतहटका स्थानीय २ सय जनामाथि अपराधिक मुद्दा दर्ता भएको छ तर आधा दर्जन पटक सरकारमा सहभागी भएर पनि उनले उपरोक्त मुद्दालाई मन्त्रीपरिषदवाट फिर्ता गराउने प्रयास गरेनन् । गौर घटनावाट उपेन्द्र यादव यति बढी डराए की उनी भुमिगत भई भागाभाग गर्न थाले । मधेशका जनता र उनका नेता एवं कार्यकर्ताहरुले पनि एकै पटक उपेन्द्र यादवको अनुहार २०६४ को भदौमा सरकारका गृहमन्त्री सित वार्ताको टेबलमा पाए । सरकार सितको त्यस सम्झौतामा उपेन्द्र यादवले आफना अनेकौं महत्वपूर्ण मागहरुलाई तिलान्जलि दिए । सत्तामा सहभागिताका लागि त्यतिवेला पनि उनी व्यग्र नै देखिएका थिए । त्यस सम्झौतालाई मधेश र मधेशीसित गद्दारीको संज्ञा दिदै फोरमका तात्कालिन बरिष्ठ पदाधिकारी र नेताहरु भाग्यनाथ गुप्ता, किशोर कुमार विश्वास र जितेन्द्र कुमार सोनलहरुले पार्टी नै परित्याग गरे ।
सत्ता स्वार्थमा लागेका उपेन्द्रको मधेशको मुद्दालाई तिलाञ्जली दिने नेताबाट मधेशका जनताहरु सावधान रहनुपर्ने नत्र, उनको स्वार्थ पुरा गराउनका लागि मधेशी जनताहरु आ आफनो छोराछोरीको भविष्य अन्धकारमय बन्ने छ त्यसैले समयमै विचार पुर्याएर मधेशको नाममा राजनीति गर्ने यस्ता नेताहरुबाट सचेत रहनु आजको आवश्यक्ता रहेको छ ।