पोखरालाई नेपाल,भारत र चीनको व्यापारिक केन्द्र बनाउनुपर्छ : मन्त्री किराँती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले पोखरालाई नेपाल,भारत र चीनको व्यापारिक केन्द्र बनाउनुपर्ने बताउनुभएकाे छ ।
बुधबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि झनै नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ र उचाईमा पुगेकोसमेत बताउनुभयो । उहाँले नेपाल र भारतबीचको सम्बन्ध अहिले हिमालको उचाई झैँ अघि बढीरहेको बताउनुभएको छ ।
उहाँले योगा गर्न र मनोरम दृश्य हेर्न भारतका नागरिकहरुलाई पोखरा आह्वान गर्नुभयो । मन्त्री किराँतीले नेपालको जस्तो प्राकृतिक सुन्दरता अन्य देशमा नरहेको भन्दै भारतका नागरिकहरुलाई पोखरा आह्वान गर्नुभएकाे हाे ।
मन्त्री किराँतीले पोखराबाट भारतका विभिन्न शहरमा हवाई उडान हुनसके सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढ हुने बताउनु भयो ।
मन्त्री किराँतीले प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमण सम्बन्ध बिस्तारका लागि कोशेढुंगा सावित भएको समेत बताउनुभयो । ईमेजखबर