Online News Portal

सरकार ढाल्ने दाउपेचमा लागेको एमालेलाई नैनसिंह महरले गरे काउन्टर, ओलीको धोकालाई कांग्रेसले विर्सिन नसक्ने

106

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले एमालेलाई सत्ता चाहियो भनेर अहिलेको गठबन्धन भत्किएर नयाँ सरकार बन्ने सम्भावना नरहेको बताएका छन् ।

बुधबार बिहान एउटा एफ.एम. रेडियोसँगको अन्तर्वार्तामा नेता महरले कठिन परिवेशमा बनेको गठबन्धनलाई भत्काउन एमालेले अनेक प्रयास गरिरहेको बताए । उनले एमालेलाई सत्ता निकै चाहिएको बताएका छन् ।

उनले भने, ‘कांग्रेसको अभियान भनेको अहिलेको गठबन्धनको सरकारलाई अगाडि बढाउने भन्ने नै हो । जहिलेसम्म नेपाली कांग्रेस लगायतका दलहरूले सरकार निर्माण गर्ने बेला बनाएको नीति तथा न्यूनतम साझा कार्यक्रम र विशेष गरि कांग्रेसको घोषणा पत्रमा जो प्रतिवद्धता व्यक्त गरेका छौँ त्यो रुपमा जबसम्म यो वर्तमान सरकार जान्छ तबसम्म यसको बिकल्प खोज्ने कुनै सम्भावना पनि हुँदैन र खोज्नु पनि हुँदैन ।’

‘एउटा समस्या छ मैले बारम्बार भन्ने गर्छु । नेकपा (एमाले) भन्ने पार्टी सत्तामा रहेन भने उसको मेसिनरीले काम गर्न छोड्छ’, उनले भने, ‘सत्ताबाट अत्यन्तै लाभान्वित साथीहरू उपस्थित हुनुहुन्छ पार्टीभित्र । एमाले सरकारबाट बाहिरियो अथवा नेतृत्वबाट बाहिरियो भने तीन वर्षभन्दा बढि टिक्नै गाह्रो हुन्छ ।’

नेता महरले भने, ‘एमालेले सत्ताको वरिपरी टिकाइराखेको ठूलो जमात छ । सरकार ढल्ने भन्ने कुरा एमालेबाट आएको होल्ला हो । यसमा सत्यता छैन ।’

उनले भने, ‘न्यूनतम साझा कार्यक्रम जहिलेसम्म उल्लंघन हुँदैन । प्रधानमन्त्री गठबन्धनको स्प्रीटसँग एकाकार भएर हिँड्नु हुन्छ तबसम्म गठबन्धन तोडिने सम्भावना हुँदैन ।’

‘देशलाई जटिल अवस्थाबाट निकास दिने परिस्थितिमा, देशलाई अग्रगमनमा लैजाने सवालमा, एमाले मात्रै होइन की सबै राजनीतिक दल सहकार्य, सदभाव राखेर अगाडि बढ्न चाहन्छौँ’, नेता महरले भनेका छन् ।

‘केही व्यक्ति र मानिसहरूलाई सत्तामा जान पटक पटक रहर जाग्ने कुरा ठूलो होइन । रहर लाग्छ नै’, महरले भने, ‘रहर लाग्दैमा नेपाली कांग्रेसको संगठन, स्प्रीट र गन्तव्यमा भाँजो हाल्ने काम हुन सक्दैन ।’

केन्द्रीय सदस्य महरले कांग्रेसको विशेष महाधिवेशन आवश्यक नरहेको बताएका छन् । उनले कोभिड १९ का कारण १४औँ महाधिवेशनमा धेरै कुरा छलफल हुन नपाएको बताउँदै बरु नीति महाधिवेशन गर्नुपर्ने बताए ।

कांग्रेसका केही नेताहरूले अहिलेको सरकार ढाल्ने भनेर दिएका अभिव्यक्तिहरूको उनले आलोचना गरेका छन् । महरले अस्थिरताको राजनीति गर्न नहुने बताएका छन् । नेपालपाना

Leave A Reply

Your email address will not be published.