चिनियाँ टिकटकले बालबालिकामा ज्यान जाने खतरा
टिकटकमा दिइने चुनौतीहरू नृत्यको नयाँ चाल सिक्नु, नयाँ पाक्कला सिक्नु वा नयाँ फिल्टर प्रयोग गर्नु जस्तै सरल हुनसक्छन्।
तर ब्लूमबर्ग बिज्निस वीकले सङ्कलन गरेको तथ्याङ्कअनुसार सन् २०२२ को नोभेम्बरसम्मको १८ महिनाको अवधिमा कम्तीमा २० जना बालबालिकाको टिकटकमा दिइएका चुनौती स्वीकारेर भिडिओ बनाउने क्रममा मृत्यु भएको छ।
त्यस्ता चुनौतीमध्ये एउटामा मानिसहरूलाई होस गुम्ने अवस्थासम्म आफ्नो सासलाई नियन्त्रण गर्न वा रोक्न भनिएको हुन्छ।
यसको प्रमुख उद्देश्य चुनौती स्वीकार गर्ने मानिस होसमा आएपछि उसले अनुभूत गर्ने तीव्र उत्तेजनालाई भिडिओमा कैद गर्नु हो। मानिसको त्यस्तो भोगाइलाई ‘एड्रिनलिन रश’ भनिन्छ।
अर्को चुनौतीमा दुःस्वप्न उत्प्रेरित गर्नका लागि सामान्य रुघाखोकी र ज्वरो नियन्त्रण गर्ने औषधिहरूको अधिक मात्रामा सेवन गर्न भनिन्छ।
अमेरिकी नियामक निकाय फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशनले त्यस्ता औषधिमा प्रयोग गरिने एउटा तत्त्व डाइफेनहाइड्रामाइनको अधिक प्रयोगले मुटुको समस्या, मुर्छा पर्ने, कोमामा जाने वा मृत्यु समेत निम्त्याउन सक्ने चेतावनी दिएको छ।
यस्ता खतरनाक गतिविधिमा संलग्न भएर बालबालिकाले किन आफ्नो जीवन खतरामा परिरहेका छन् त?

तस्बिर स्रोत,GETTY IMAGES
साथीहरूबाट आउने दबाव
क्यालिफोर्नियास्थित फिल्डिङ ग्र्याजुएट यूनिभर्सिटीअन्तर्गत मिडिया साइकोलजी रिसर्च सेन्टरकी निर्देशक डा. पामेला रुटलेजका अनुसार यस्तो गर्नुको एउटा सम्भावित कारणमा साथीहरूबाट आउने दबाव र ‘सामाजिक वृत्त’मा आफ्नो उपस्थिति देखाउने इच्छा पर्छन्।
“यदि तपाईँले उनीहरूलाई सामाजिक पुँजी दिने चुनौती अघि सार्नुभयो भने उनीहरूले खुसी महसुस गर्छन्, उनीहरूले आफू निकै ठूलो कुराको अंश भएको महसुस गर्छन् जसले उनीहरूलाई अन्य व्यक्तिहरूसँग जोड्छ,” उनी भन्छिन्।
“धेरै मानिसहरू छन् जसले यसको प्रतिरोध गर्न सक्दैनन्। किनकि उनीहरू कमजोर वा अनुभव नभए जस्तो देखिन चाहँदैनन्। उनीहरू छुट्न चाहँदैनन्…।”
उनी बालबालिकाहरूले सामाजिक संसारमा आफ्नो स्थान खोजिरहेको कुरा औँल्याउँछिन्। उनी भन्छिन्, “चुनौतीको सामना गर्दा फरक कोणबाट सोच्दैनन्।”
अमेरिकाको सिराक्युज यूनिभर्सिटीमा सञ्चार विषय प्राध्यापन गर्ने मकाना चक पनि उनको जस्तै विचार राख्छिन्।
“साथीभाइको आग्रहमा बालबालिका र किशोरकिशोरीले जोखिमपूर्ण कार्य गर्नु कुनै नौलो कुरा नभए पनि दूरवर्ती भएकाले सामाजिक सञ्जालले विशेष चुनौती खडा गरेको छ,” उनी भन्छिन्।
“आवश्यक परेको खण्डमा सहयोग माग्न सक्ने साथीहरूको वरपर रहेर त्यस्ता जोखिमपूर्ण गतिविधिमा संलग्न हुनुको साटो पछि साझा गर्ने उद्देश्यले एकान्तमा रेकर्ड गर्न सक्छन्,” उनी थप जानकारी दिन्छिन्।

तस्बिर स्रोत,GETTY IMAGES
यहाँ अर्को महत्त्वपूर्ण ‘जैविक कारक’बारे पनि विचार गर्नुपर्छ।
सन्तुलित सोच र जोखिमको आकलन गर्न सक्ने मस्तिष्कको अग्रभाग ‘प्रिफ्रन्टल कोर्टेक्स’ मानिस उमेरले २० को दशकको मध्यमा नपुग्दासम्म विकास हुँदैन।
यसको अर्थ बालबालिका र किशोरकिशोरीले कुनै पनि घटनाको “कारण र प्रभावहरू बुझ्ने वास्तविक क्षमताको विकास भएको हुँदैन” र आवेगलाई नियन्त्रण गर्न उनीहरूलाई गाह्रो हुनसक्छ।
रुटलेज भन्छिन्, “यो अभिभावकका लागि सबैभन्दा डरलाग्दो पाटो हो।”
टिकटकविरुद्ध परिवार
केही परिवारले घातक चुनौतीमा सहभागी भएका बालबालिकाको मृत्युका लागि यसको एल्गोरिदमलाई जिम्मेवार ठहराउँदै टिकटकविरुद्ध मुद्दा दायर गरिरहेका छन्।
“बालबालिका जीवनको सवालमा १० लाखमध्ये एक जनाको मृत्यु पनि एकदम धेरै हो,” सोसल मिडिया भिक्टिम्स ल सेन्टरका म्याथ्यु बर्गम्यान भन्छन्।
उनको फर्मले अमेरिकामा ६ वटा परिवारको पक्षमा मुद्दा लड्दै छ जसमध्ये ५ जनाले आफ्नो प्रिय मान्छे गुमाएका छन्।
यसमा नौ वर्षीया अरियानी जेलीन अरोयोका आमाबुवा पनि सामेल छन्। अरोयोको सन् २०२१ को फेब्रुअरीमा सास रोक्ने प्रयास गरेपछि मृत्यु भएको थियो।
उनीहरूका अनुसार अरोयोले टिकटकको ‘फर यु फिड’मा देखेको चुनौती पूरा गर्ने कोसिस गरिरहेकी थिइन्।
उनले त्यस्ता चुनौतीको खोजी नगरेको तर उक्त एपको एल्गोरिमद्वारा आफैँ उनको पृष्ठमा आएको बर्गम्यानको तर्क छ।
त्यस्ता सामग्री टिकटक स्वयंले नबनाएको भए पनि यसले “त्यस्ता चुनौतीलाई बढाउन र फैलाउन सक्ने ठाउँ प्रदान गरेको छ” वा त्यस्ता चुनौतीलाई “भाइरल” बनाएको छ।

तस्बिर स्रोत,GETTY IMAGES
अहिलेसम्म सामाजिक सञ्जाल कम्पनीहरूलाई उत्तरदायी बनाउने धेरै प्रयासहरू असफल भएका छन्। सन् २०२२ को अक्टोबरमा १० वर्षीया न्याला एन्डर्सनको मृत्यु हुनुमा टिकटक जिम्मेवार रहेको आरोप लगाउँदै दर्ता भएको एउटा अमेरिकी मुद्दा खारेज गरिएको थियो।
अमेरिकाको पेन्सिल्भेनिआ राज्यका एक न्यायाधीशले कम्युनिकेशन डिसेन्सी एक्टको धारा २३० ले टिकटकलाई संरक्षण गरेको फैसला सुनाएका थिए।
सामग्रीहरू प्रयोगकर्ताले बनाउने भए पनि उक्त ऐनले सामान्यतया प्रकाशकहरूलाई दायित्वबाट उन्मुक्ति दिन्छ।
बर्गम्यान र उनको फर्मले यस ऐनलाई चुनौती दिन खोजिरहेका छन्।
“यूके वा अमेरिकाका कम्पनीहरू माथि पूर्ण सावधानी नभई उचित सावधानीको जिम्मेवारी छ। टिकटक हरेक बालबालिकाको सुरक्षाको लागि सतप्रतिशत जिम्मेवार छ र आमाबुवा जिम्मेवार छैनन् भन्ने होइन,” उनी भन्छन्।
“हामी के भनिरहेका छौँ भने टिकटक र अन्य सबै सामाजिक सञ्जाल कम्पनीले हामीले सामान्य जीवनमा गर्ने जस्तै हेरचाहको कर्तव्य पालन गर्न आवश्यक छ।“बिबिसी