तर यति बेला विमानस्थल सत्ता गठबन्धनमा रहेको कर्मचारी र प्रहरीको कब्जामा रहेको छ । सामान्य कर्मचारीलाई निलम्बन गरेर विमानस्थलमा कार्यरत ठूला कर्मचारीहरू उम्कने दाउमा रहेका छन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको सेटिङमा महेश भट्टराई पुगेका थिए । त्यसपछि उनै शर्माको पहलमा बिगत दुई बर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेल रहेका छन् ।
त्यो सुन आउँदा उनी त्यही थिए, सुन बाहिरिँदा मात्रै उनी बिदामा भएको देखिन्छ । प्रमुख अध्यागमन अधिकृतका रुपमा नेतृत्व गरिरहेका रामबन्धु सुवेदी प्रधानमन्त्री दाहालकी छोरी, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालको सेटिङमा त्यहाँ पुगेका हुन् । साथै पम्फा भूसालसँग अन्तन्तै निकट रहेको र रामबहादुर थापा गृहमन्त्री हुँदा सम्पूर्ण सुरक्षाको नेतृत्व गरेका डीआईजी अर्जुन चन्द ठकुरीलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पठाएका हुन् । उनी पनि त्यसदिन विदामा बसेका थिए । अर्थमन्त्री प्रकाशशरण महतले मन्त्रालय बाहिरबाट खोजेर शोभाकान्त पौडेललाई भन्सार विभागकाे महानिर्देशक बनाएका छन् ।
पर्यटनमन्त्री सुदन किराँतीले विश्वास गरेर जिम्मा दिएका प्रतापबाबु तिवारी विमानस्थल प्रमुख छन् । उनीहरू सबैलाई मिलाई सकेर मात्रै सुन बाहिर आएको देखिन्छ । त्यहाँको एक्सरे डिटेक्टर मेसिन चालू हालतमा भएपनि सुन पहिचान गर्ने अवस्थामा छैन । सो विषयलाई तस्करहरूले राम्रोसँग पहिचान गरेर मात्र त्यहाँबाट सुन बाहिर पठाएको जानकारहरुको दावी रहेको छ ।
चैतमा दर्ता भएको सो कम्पनीबाट २०२३ को मे १७ अर्थात् २०८० साल जेठको ३ गतेबाट मात्रै सामान आयात गरिएको थियो । ‘पहिलो पटक २०८० जेठ ३ गते चीनको दोङ्गुन सुतु ट्रान्सपोर्टेन कम्पनी लिमिटेडबाट नेपालका लागि सामान पैठारी भएको देखिन्छ’, स्रोतले भन्यो । त्यति बेला सामान आयात गर्दा दाह्री काट्ने मेसिन अर्थात् सेभर आयात भएको देखिन्छ । कुल २ सय थान दाह्री काट्ने मेसिनको तौल ६६ किलोग्राम र त्यसको भन्सारमा घोषित मूल्य ४०० डलर राखिएको छ ।
त्यसको ४ दिनपछि २०२३ को मे २१ अर्थात् २०८० जेठ ७ गते सोही ट्रान्सपोर्ट कम्पनीबाट २ सय थान सेभर ४ सय डलरको मूल्याङ्कन गरेर नै सामान ल्याइएको थियो । त्यस्तै २०२३ मे २४ अर्थात् २०८० जेठ १० गते जियाङनेन फेङतोङ ट्रान्सपोर्टेसन कम्पनी लिमिटेड चीनबाट ४० थान ब्रेक प्याड आयात भएको देखिन्छ । उक्त ४० थान ब्रेक प्याडको कूल तौल ३४ किलोग्राम उल्लेख गरिएको छ भने त्यसको भन्सारमा घोषित मूल्य १२० डलर राखिएको छ ।
रेडी ट्रेड प्रालिको नाममा सामान आयात गर्दा कहिले ब्रेक प्याड त कहिले दाह्री काट्ने सेभर ल्याएको पाइएको छ । ब्रेक प्याड र दाह्री काट्ने सेभर दुवै चीनबाट आयात भएको छ । २०२३ को मे २६ अर्थात् २०८० जेठ १२ गते ताइवानबाट मेकानिकल मोटरसमेत आयात भएको देखिएको छ । ताइवानको तलमुड कम्पनी लिमिटेडबाट ५२ किलोग्राम तौल भएको ४८० अमेरिकी डलर भन्सार मूल्य घोषित भएको सामान आएको देखिन्छ । यस्तो अवस्थामा भन्सारका तीन कर्मचारीलाई निलम्बन गरेर मात्र सरकार उम्किने कोसिसमा लागेको त हाेइन ? । नेपाल बहस बाट