Online News Portal

अमेरिका छाड्न वाध्य चिनियाँ वैज्ञानिक

251

वासिंगटनको प्रविधि लक्ष्यलाई आघात पुर्‍याउन सक्ने अमेरिकी विज्ञको चिन्ता

बढ्दो संख्यामा चिनियाँ वैज्ञानिकले अमेरिका छाड्न थालेका छन् । अमेरिकामा तिनलाई सुरक्षाको आधारमा आशंकाको नजरले हेर्न थालिएपछि अन्यत्रको अनुसन्धानमा केन्द्रित हुन थालेका हुन् । यो एक घटनाले पनि अमेरिका–चीनबीचको बिगँ्रदो सम्बन्धले प्राज्ञिक सहकार्यमा पनि समस्या निम्त्याइरहेको छ भन्ने संकेत गर्छ । यसले कालान्तरमा वासिंटनको प्रविधि उद्देश्यलाई आघात पुर्‍याउन सक्छ । अमेरिकामा बसेका चिनियाँ वैज्ञानिकले दशकौँदेखि अनुसन्धान प्रयासमा योगदान गरी उन्नत विज्ञान र प्रविधि विकासलाई अघि बढाउन सघाइरहेका थिए ।

संयुक्त राज्य अमेरिकामा बसोवास गर्ने चिनियाँ वैज्ञानिकले दशकौँदेखि उन्नत प्रविधि र विज्ञानको विकासमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । तर आगामी दिनमा चिनियाँ वैज्ञानिकले अमेरिकाभन्दा पनि अन्यत्रका अनुसन्धानमा ध्यान दिन सक्छन् । किनकि चीन र अमेरिकाको सम्बन्ध बिग्रिँदै जाँदा अमेरिकामा काम गर्ने चिनियाँ वैज्ञानिकमाथिको निगरानी र जाँच बढ्दै जान्छ । त्यसबाट दिक्क भएर अनुसन्धानदाताका लागि अरू ठाउँ बढी सहज लाग्नेछ । त्यस परिपे्रक्ष्यमा बेइजिङले पनि प्रतिभालाई आफूतर्फ तान्न र कायम राख्ने प्रयासलाई बढावा दिनेछ । गत महिना प्रकाशित नयाँ अनुसन्धानअनुसार सन् २०१० र २०२१ को बीचमा संयुक्त राज्य अमेरिका छाड्ने चिनियाँ वैज्ञानिकको संख्या लगातार बढिरहेको छ । यदि यो प्रवृत्ति जारी रह्यो भने, यस ‘ब्रेन ड्रेन’ले लामो समयसम्म अमेरिकी अनुसन्धानलाई प्रभावित बनाउने विज्ञले चेतावनी दिएका छन् ।

‘यो पूर्णतः घातक हुनेछ,’ क्याटो इन्स्टिच्युटका अध्यागमन अध्ययनका सहायक निर्देशक डेभिड बियरले भने, ‘उन्नत प्रविधि क्षेत्रमा संलग्नमध्ये निकै धेरै शोधकर्ता चीन वा अन्य विदेशी मुलुकका विद्यार्थी छन् । यस परिघटनाले पक्कै पनि अमेरिकी फर्म र अमेरिकी अनुसन्धानको प्रगतिमा नकारात्मक असर पार्नेछ ।’ सेमिकन्डक्टर चिप्सदेखि कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टिलिजेन्स अर्थात् एआई)सम्मका क्षेत्रमा वासिंटन र बेइजिङको प्रतिस्पर्धामा प्रविधि अग्रपंक्तिमा छ । यी क्षेत्रमा दुवै मुलुकले एक–अर्काको क्षेत्रलाई खुम्च्याउने प्रयास चाल चाल्न थालेका छन् । जलवायु परिवर्तनविरुद्ध लड्नेजस्ता प्रमुख क्षेत्रमा समेत सहकार्य बिरलै हुने गरेको छ ।

सन् ०१० देखि ०२१ सम्म संयुक्त राज्य अमेरिका छाडेर अर्को देशमा पलायन हुने चिनियाँ मूलका वैज्ञानिकको संख्या नौ सयबाट बढेर दुई हजार ६२१ पुगेको छ । अझ पछिल्लो समय अर्थात् सन् ०१८ देखि ०२१ सम्ममा चिनियाँ वैज्ञानिकको अमेरिकाबाट पलायनको दर तीव्र बनेको ‘प्रोसिडिङ अफ द नेसनल एकेडेमी अफ साइन्स (पिएनएएस)’मा प्रकाशित अध्ययनले देखाएको छ । सन् २०१० मा अमेरिका छाड्ने यस समूहको झन्डै आधा चीन र हङकङमा सरेको अध्ययनले बताएको छ । चीन सर्ने चिनियाँ मूलका वैज्ञानिकको हिस्सा बढ्दै गएको छ । हुन त यस संख्याले अमेरिकामा रहेका चिनियाँ वैज्ञानिकको सानो अंशलाई प्रतिनिधित्व गर्छ, तर बढ्दो संख्याले भने तनावपूर्ण भूराजनीतिक वातावरणमा अनुसन्धानकर्ताको बढ्दो चिन्ता र व्यापक आशंकालाई प्रतिबिम्बित गर्छ ।

प्रोसिडिङ अफ द नेसनल एकेडेमी अफ साइन्स (पिएनएएस)’मा प्रकाशित अध्ययनका लागि एक हजार ३०४ चिनियाँ अमेरिकी अनुसन्धानकर्तामाझ सर्वेक्षण पनि गरिएको थियो । सर्वेक्षणपछि प्रकाशित प्रतिवेदनमा ८९ प्रतिशत उत्तरदाताले अमेरिकी विज्ञान र प्रविधि क्षेत्रमा योगदान दिन चाहेको बताएका थिए । त्यस्तै ७८ प्रतिशतले अमेरिकामा अनुसन्धानकर्ताको रूपमा असुरक्षित महसुस गरेको प्रतिक्रिया दिए । जबकि ६१ प्रतिशतले अमेरिकाबाहिर अवसर खोज्नेबारे सोचिसकेको बताए । ‘अमेरिकामा चिनियाँ मूलका वैज्ञानिकमाझ अमेरिका छाड्ने चाहना उच्च र संघीय अनुदानका लागि आवेदन दिने चाहना कम देखिन थालेको छ,’ उक्त प्रतिवेदनमा भनिएको छ । चिनियाँ मूलका वैज्ञानिकमाझ डर र चिन्ताको भावनाले यस्तो स्थिति निम्त्याइरहेको प्रतिवेदनको निष्कर्ष छ ।

अमेरिका छाड्ने चाहनालाई दुई कुराको योगदाना गरिरहेको छ । एक त बेइजिङले अनुसन्धान र विकास कार्यक्रममा ठूलो रकम खन्याइरहेको छ । यस कार्यक्रमअन्तर्गत उसले पहिलेदेखि विदेशमा बढेका वैज्ञानिक भिœयाउने प्रयास गर्दै आएको छ । ‘हजार प्रतिभा योजना’ नामको एक पहलका लागि बेइजिङले नयाँ प्रतिभालाई भर्ती गर्न विश्वभर ६०० भर्तीकेन्द्र प्रयोग गरेको प्रक्षेपण छ । ‘चाइनाज मिलेनियल्स’ पुस्तकका लेखक एरिक फिसका अनुसार चीनले लामो समयदेखि वैज्ञानिकलाई देश फर्काउन ठूलो मिहिनेत लगाइरहेको छ ।

चिनियाँ वैज्ञानिकहरूको पलायनमा उलेख्य वृद्धि सन् २०१८ बाट भएको हो, जुन वर्ष तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘चाइना इनिसिएटिभ’मा अभियान सुरु गरे । यस विवादास्पद कार्यक्रम चीनले विदेशी कम्पनीबाट प्रविधि चोरिरहेको भन्ने आरोपलाई रोक्ने उद्देश्यले ल्याइएको थियो । कार्यक्रमले चिनियाँ मूलका अनुसन्धानकर्ता र चिनियाँ संस्थासँगको अमेरिकी अनुसन्धान संस्थाको सहकार्यमा अवरोध सिर्जना गर्‍यो । सन् २०२० देखि ट्रम्पले सेनासँग जोडिएका चिनियाँ विश्वविद्यालयका स्नातकोत्तर विद्यार्थी र अनुसन्धानकर्तालाई भिसा नदिने घोषणा पनि जारी गरे ।

बाइडेनले अघिल्लो सरकारले सुरु गरेको ‘चाइना इनिसिएटिभ’ कार्यक्रम बन्द गरे । तर, त्यस कार्यक्रको प्रभाव अझै चिनियाँ वैज्ञानिकमा कायम रहेको विज्ञले चेतावनी दिएका छन् । पिएनएएसले गरेको सर्वेक्षणमा सहभागी एक तिहाइभन्दा बढी उत्तरदाताले अमेरिकामा आफूहरूप्रति रुखो व्यवहार हुने गरेको बताए । जबकि लगभग दुईतिहाइ उत्तरदाताले आगामी दिनमा चीनसँग अनुसन्धान सहकार्यको सम्भावनाप्रति चिन्ता व्यक्त गरे । ‘अहिले पनि चीनसँगको सहकार्यमा एक प्रकारको भय छ,’ एरिजोना विश्वविद्यालयअन्तर्गतको उच्च शिक्षा अध्ययन केन्द्रका प्रोफेसर जेनी लीले भनिन् ।

रुस–युक्रेन युद्धको प्रभाव प्राज्ञिक क्षेत्रमा पनि
युएस–चीन सम्बन्धमा आएको चिसोपनले विश्वविद्यालय पनि कसरी भूराजनीतिक द्व्रन्द्वमा तानिन्छन् भन्ने उदाहरण ती राज्यमा देखिन्छ, जहाँका सांसदले उनीहरूलाई चिनियाँ समकक्षहरूसँग सम्बन्ध तोड्न दबाब दिएका छन् । बिग्रँदो सम्बन्धले अमेरिकीमाझ चिनियाँ भाषा अध्ययन र चिनियाँ विश्वविद्यालयमा अध्ययनको रुचि स्वात्तै घटेको छ । यो कुरालाई निम्न तथ्याकंले उजागर गर्छ : आज अमेरिकामा करिब तीन लाख चिनियाँ विद्यार्थी पढिरहेका छन् भने यस शैक्षिक वर्षमा ३५० अमेरिकीले मात्र चीनमा अध्ययन गरिरहेका छन् । यदि चासो घट्न जारी रह्यो भने वासिंटनको बेइजिङप्रतिको बुझाइमै असर पर्ने विशेषज्ञहरूले चेतावनी दिएका छन् ।

हारवार्ड युनिभर्सिटीको चिनियाँ अध्ययन केन्द्रका पूर्वनिर्देशक डेनियल मर्फीले यस जोखिमबारे चिन्ता व्यक्त गर्दे भने– ‘हामीले चीनका बारेमा जानकार एउटा पुस्ता नै गुमाउँदै छौँ । अमेरिकाले प्राज्ञिक सम्बन्धको लाभको उचित विचार नगरी जोखिममा मात्र अत्यधिक ध्यान केन्द्रित गरिरहेकोझैँ लाग्छ । यही कुरा अरू क्षेत्रमा देखिन थालेको छ । र, यस विषयमा अमेरिकाका दुवै दलमा समर्थन देखिन्छ ।’ चिनियाँ वैज्ञानिकहरू बढ्दो संख्यामा अमेरिकाबाट बाहिरिरहँदा नयाँ विद्यार्थीको प्रवेश रोक्ने गरी भिसा अस्वीकृति रेकर्ड स्तरमा पुगेको छ ।

जसरी केही चिनियाँ वैज्ञानिक अमेरिकाबाहिर अवसर हेर्न थालेका छन्, तिनै चुनौतीले बढ्दो संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई शैक्षिक अवसरकै अन्य गन्तव्यमा ध्यान केन्द्रित गर्न बाध्य बनाएको छ । विद्यार्थीहरू अहिले अमेरिकाभन्दा पनि क्यानडा, अस्ट्रेलिया, जापान र बेलायतजस्ता देशका विश्वविद्यालयमा जाने क्रम बढ्दै गएको छ । ती मुलुकले उच्च–दक्ष कामदार र अनुसन्धानकर्ताका लागि आफ्नो ढोका खोलेकाले यो सम्भव भएको हो । थप प्रतिभालाई आकर्षित गर्न, बेलायतले ‘ग्लोबल ट्यालेन्ट (वैश्विक प्रतिभा)’ र ‘हाई पोटेन्सियल इन्डिभिजुअल (उच्च सम्भावना बोकेको व्यक्ति)’ शीर्षकमा भिसा जारी गरेको छ । यसले शीर्ष विश्वविद्यालयका प्राज्ञलाई क्रमशः २–३ वर्ष र १–५ वर्ष देशभित्र काम गर्ने अनुमति दिन्छ । ‘भूराजनीतिक तनाव, राजनीतिक एजेन्डा’ले अमेरिकाका विश्वविद्यालय प्रभावित बनाइरहेको छ । यसले पक्कै पनि अमेरिकी विश्वविद्यालयको उत्कृष्ट प्रतिभालाई आकर्षित गर्ने क्षमतामा बाधा पुर्याइरहेको छ ।
फरेन पोलिसीका लागि क्रिस्टिना लु र अनुशा राठीको आलेख

Leave A Reply

Your email address will not be published.