बिआरआईपछि बेइजिङमा बीआरएफ अन्तर्राष्ट्रिय सहकार्य मञ्काे आयाेजना
बेइजिङ — चीनको राजधानी बेइजिङमा मंगलबारदेखि ‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन(बीआरएफ) आयोजना हुँदैछ। दुई दिने फोरममा विश्वभरका १४० भन्दा बढी देशहरू र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी हुने चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।
चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता ह यातोङले तेस्रो बीआरएफ अवधिमा दर्जनौं चिनियाँ सरकारी अधिकारी, अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरू, विज्ञ र व्यापारिक समुदायका १०० भन्दा बढी प्रतिनिधिलाई आमन्त्रण गरिएको बताए।
बीआरएफअन्तर्गत ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’ मा नेपालको तर्फबाट उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुख्य प्रवचन दिने कार्यक्रम छ। बेइजिङस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठका अनुसार उपप्रधानमन्त्री श्रेष्ठले बुधबारको फोरममा मुख्य वक्तव्य दिनेछन्। हरित विकास र डिजिटल अर्थतन्त्रलगायतका अन्य क्षेत्रहरूमा बीआरएफ केन्द्रित हुने र केही संस्थाहरूबीच सहकार्यमूलक परियोजनाहरूमा सहमति हुने अपेक्षा गरिएको छ।
बीआरआई घोषणाको दशौं वार्षिकोत्सव मनाउन बेइजिङले तेश्रो बृहत् सम्मेलन गर्दैगर्दा यसको प्रारूपमा केही फेरबदल गर्नसक्ने बुझिएको छ। बीआरआईको गुणस्तरीय विकासको अवधारणा अघि बढाउँदै आएको चीनले कोभिड-१९ महामारीपछिको यो अवसरलाई साना ठूला कार्यक्रमका साथ मनाइरहेको जनाएको छ।
तथ्याङ्कअनुसार ११४ देशको शीर्ष तीन व्यापारिक साझेदार र ६८ देशको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको चीनले ७४ देशका लागि आयातको सबैभन्दा ठूलो स्रोत र ३५ देशका लागि सबैभन्दा ठूलो निर्यात बजारको रुपमा हिस्सा लिएको छ। विश्व बैंकका अनुसार बेल्ट एण्ड रोडको संयुक्त निर्माणले सहभागीहरूको व्यापारमा ४.१ प्रतिशतले वृद्धि भएको छ, विदेशी लगानी ५ प्रतिशतले आकर्षित गरेको छ र न्यून आय भएका देशहरूको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ३.४ प्रतिशतले वृद्धि भएको छ।
यसबाहेक, विषयगत फोरमले डिजिटल अर्थव्यवस्था र हरित विकासमा अन्तर्राष्ट्रिय आर्थिक र व्यापार सहयोगको फ्रेमवर्क पहल र चीनको बेल्ट एन्ड रोड व्यापार र लगानी विकास प्रतिवेदन २०१३-२०२३ जस्ता महत्त्वपूर्ण उपलब्धिहरू पनि जारी गर्नेछ। चिनियाँ विश्लेषकहरूले बीआरआई प्रस्तावको जन्म विश्वव्यापी विकास समस्याको समाधान गर्नको लागि भएको थियो भने यसको सबैभन्दा आकर्षक उपलब्धि भनेको विश्व आर्थिक वृद्धिमा नयाँ शक्ति थप्नु हो। यसअघि प्रथम सम्मेलन २०१७ र दोश्रो सम्मेलन २०१९ मा बेइजिङमा भएको थियो।