Online News Portal

आइसियू भर्नाका लागि रेफर भएका जैनुद्दिनका छोरा एमडी शाहनवाज अस्पतालको डिलक्स केबिनमा दिनभर मोबाइल चलाउँदै

142

२७ चैत,वीरगञ्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक (एमडी) शाहनवाज अन्सारी अस्पताल भर्ना भएका छन् । कलेजको प्रयोगशाला (ल्याब) बाट म्याद गुज्रिएका केमिकल बरामद भएपछि पक्राउ परेका एमडी अन्सारी बीरगन्ज हेल्थ केयर हस्पिटलमा भर्ना भएका हुन् ।

सोमबार राती सामान्य चेकजाँच गराउन लिएर गएको प्रहरी टोलीलाई नारायणी अस्पतालको इमरजेन्सी सेवामा खटिएका चिकित्सकले आइसियूमा लैजान भनेपछि परिवारको जोडबलमा अन्सारीलाई अस्पतालमा भर्ना गरिएको हो । उनलाई पर्सा प्रहरीको हिरासत छल्न हेल्थ केयरको डिलक्स केबिन नम्बर– ५ मा भर्ना गरिएको छ ।

‘विरामीको ब्लड प्रेसर बढेको छ, १२ वटा लीडमध्ये तेस्रो र छैठौंमा परिवर्तन आएको छ । बिरामीले छाती दुखिरहेको बताएका छन्, हामीसंग सुविधासम्पन्न तथा आइसियू पनि खाली छैन । त्यसकारण थप उपचारका लागि उच्चस्तरीय अस्पतालमा लैजान रेफर गरिएको छ ।’ नारायणी अस्पतालका फिजिसियन डा. राजीव यादवले रेफर गर्दै लेखेका छन् ।

डा. यादवको यही पत्रको आधारमा प्रहरी रेखदेखमा एमडी अन्सारीलाई सुविधा सम्पन्न अस्पतालमा लैजान बाध्य भएको पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगले जनाए ।

कानुनले दिएको प्रावधान अन्तर्गत नारायणी अस्पतालले रेफर गरेपछि अभियुक्त बिरामीलाई थप उपचारको लागि अर्को अस्पतालमा पठाइएको उनले बताए ।

के उपचार भइरहेको छ अन्सारीको ?

सामान्य स्वास्थ्य परीक्षण गराउन नारायणी अस्पताल पुगेका नेशनल मेडिकल कलेजका एमडी अन्सारीले भर्ना भएपछि अचानक छाती दुख्यो भन्दै चिकित्सकलाई जानकारी गराएका थिए । सोही बमोजिम नारायणी अस्पतालमा त्यो समयमा खटिएका डा. यादवले तत्कालै इसिजीसहित चेकजाँच गरे । डा. यादवले एमडी अन्सारी बिरामी रहेको भन्दै रेफर गरेपछि हाल उनी बीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत छन् ।

यस विषयमा बीरगन्ज हेल्थ केयरका सञ्चालक अबुलहैस अन्सारीले नारायणी अस्पतालले आइसियूमा भर्ना गर्नुपर्ने जरुरी रहेको लेखेर रेफर गरेपछि त्यही अनुसार भर्ना गरिएको प्रतिक्रिया दिए । बिरामीले छाती दुखी रहेको बताएपछि सोही अनुसारको चेकजाँच गरिरहेको उनले बताए ।

यता अस्पतालको डिलक्स क्याबिनमा उपचारार्थ रहेका अन्सारी भने मोबाइल खेलाउँदै, फोनमार्फत कुरा गर्दै बेडमा सामान्य तरिकाले सुतिरहेको तथ्यले देखाएको छ । तर उपचारको नाममा भने केहि औपचारिकता मात्र पूरा भइरहेको स्रोतले जनायो ।

सम्भार रेसखबर

Leave A Reply

Your email address will not be published.