भारतको सहयोगमा नवनिर्मित तनहुँको श्री दीपक मावि भवनको उद्घाटन
काठमाण्डौ, १९ साउन – भारत सरकारको अनुदान सहयोगमा बनेको तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमार र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले भारत सरकारको अनुदान सहयोगमा बनेको उक्त विद्यालय भवनको आज उद्घाटन गरेका हुन् ।
भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड १ लाख ९० हजारको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा उक्त भवनको निर्माण भएको नेपालस्थित् भारतीय दूतावासले जनाएको छ ।
उक्त परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक भएको पनि दूतावासले जनाएको छ ।
सन् १९७५ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको उक्त विद्यालय सन् २००० मा माध्यमिक विद्यालयको रुपमा स्तरोन्नत भएको हो । उक्त विद्यालयमा १८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ,। जसमध्ये ६० प्रतिशत छात्रा छन् ।सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये तनहुँ जिल्लाका ६ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेको पनि भारतीय दूतावासले जनाएको छ ।