Online News Portal

चीनको विस्तारवादको नमूना त होईन झापाको दमक क्लीन पार्क?

219

विश्वलाई आफ्नो मुठ्ठीमा पार्ने षडयन्त्रमा तल्लिन रहेको चीनको कर्केनजर अहिले विश्वका विकासशील राष्ट्रहरूमा परेको छृ।

चीनको महत्त्वकांक्षाबाट नेपालले पनि आफूलाई जोगाउन सकेको छैन। विभिन्न प्रकारको निवेश, परियोजनाहरूको लालच देखाएर चीनले देशमा जरा गाढ्न थालेको छ।

नेपालमा आफ्नो पकड दह्रो बनाउन विभिन्न प्रकारको दाउपेचहरू अप्नाइरहेको चीनको एक महत्त्वपूर्ण दाउपेचको उदाहरणको रूपमा  नेपाल चीन मैत्री पार्क/ दमक औधोगोक पार्क ( दमक क्लिन पार्क) लाई लिन सकिन्छ।

झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर पाँचको दमक नगरपालिका ,गौरादह नगरपालिका र कमल गाउँ पालिकाको सङ्गम क्षेत्र बनाएर करिब २२०० बिघा जग्गामा चीन सरकारको ३३ अर्ब  रुपैयाँको ऋण सहयोगमा बन्ने भनिएको उक्त पार्क घरिघरि विवादमा पर्ने गरेको छ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा चिनियाँ लागतमा बनिन लागेको क्लीन पार्क चर्चाको विषय बन्दै गइरहेको छ। चीन सरकारको वान बेल्ट वान रोड परियोजना अन्तर्गत निर्माण गरिने दमक औद्योगिक क्लिन पार्क चीन सरकारको अन्तर्राष्ट्रीय हस्तक्षेपको एउटा नमूना बन्ने आशंकाको रूपमा लिन थालिएको छ।

नेपाल चीन मैत्री पार्कको रूपमा चिनिने उक्त पार्क निर्माण गर्न करिव १० वर्ष लाग्ने बताइएको छ निर्माण सकिएछि उक्त ग्रीन पार्कलाई चीन सरकारले ४० वर्ष सम्म आफैले प्रयोजन गरी त्यस पछि मात्र नेपाललाई हस्तान्तरण गर्ने भनी सम्झौतामा उल्लेख गरिएको छ ।

दमक औद्योगिक क्लिन पार्क निर्माण गरिने भनिएको स्थान दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा रहेको सो क्षेत्रमा जनआबादी बाक्लो छ र उर्वर भूमि रहेकाले जग्गाको मूल्य निर्धारण सठिकसँग नभएको र जग्गादाताहरूले उचित मुआब्जा नपाएकोले बेलाबखत विवादले तीब्र गति लिने गर्दछ।

मुआब्जा निर्धारण समितिले मुआब्जा दर रेट तोके पनि बिबाद हालसम्म समाधान हुन सकेको छैन। यसैले चिनियाँ चलखेलको अखडा बनेको उक्त क्लीन पार्क अहिले चासोसँगै अनुसन्धानको विषय बनेको छ। अवगत गराइन्छ पार्क निर्माणसम्बन्धि सबै कुराहरू शुरुमा सार्वजनिक गरिएको थिएन। तर, जमिनदाताहरूको गुनासो र मुआब्जा विवादले गर्दा मात्र यस विषयमा सबैलाई जानकारी भएको हो।

उर्वर भूमि भएको आफ्नो जमिनको उचित दर नपाएको र अरबौँ रूपियाँको जमिन कौडीको भाउमा दिन नसक्ने जमिनदाताहरूले गुनासो गर्दै आएका छन्। सरकारी मुआब्जा मूल्याङ्कन समितिले स्थानिय जग्गादाता हरुलाई समावेश नै नगरी र जग्गादाता हरुको सुझाबको सुनुवाई नगरि हचुवाको भरमा जग्गाको मूल्य निर्धारण गरेकोले उग्र रुप लिएको छ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीनप्रतिको झुकाउले गर्दा पनि उक्त ग्रीन पार्कसम्बन्धि शंका उत्पन्न गराएको थियो। यस पार्कबारे सम्पूर्ण योजना चीनमा नै तयार भएको आएको पनि कतिले आशंका जाहेर गरेका छन्। क्लीन पार्क जुन ठाउँमा बन्न गइरहेको छ, त्यहाँ बसोबास गर्ने वासिन्दाहरूले आफ्नो जमिनको मालिकाना हक आफूसँग रहेको र आफ्नो जग्गाको मूल्य निर्धारण असन्तोषजनक रहेको भन्दै सरकारी निकायहरूलाई बारम्बार हाईगुहार लगाउँदै आइरहेका छन्।

तर आफूहरूको माग बारे कसैले ठाडोकान नलगाएपछि नै आन्दोलनलाई थप उग्र पार्न बाध्य भएको स्थानीयहरूको भनाइ छ। स्थानीय जग्गादाताहरूले आफ्नो मागको उचित सुनुवाईको लागि एउटा सङ्घर्ष समिति गठन गरेका छन् र उक्त समिति मार्फत बारम्बार आवाज उठाइरहेको समितिका सचिव रोम भण्डारीले बताएका छन्।

उक्त सङ्घर्ष समितिले आफ्नो मागप्रति ध्यानआकर्षण गराउँदै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरकारी निकायमा ज्ञापन पत्र बुझाए तापनि सुनुवाई भने हुन नसकेको दुखेसो पोखेको छ।

यसैले आफ्नो मागको सुनुवाई भएर न्याय पाउने आशामा सङ्घर्ष समिति वर्तमान सरकारलाई ज्ञापन बुझाउन काठमाण्डौँ पनि पुगेको थियो। सङ्घर्ष समितिले आफ्नो जग्गाको मुआब्जाको मूल्य निर्धारण सठिक ढङ्गमा नभए वृहत आन्दोलनमा ओर्लिने चेतावनी दिएको छ। सङ्घर्ष समितिको अगुवाइमा झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ की सांसद महेन्द्र कुमारी लिम्बूको प्रमुख सहभागितामा यही मिति २०७९ सालको श्रावण १८ गते एक प्रतिनिधि मन्डलले नेपाल सरकारका विभिन्न निकायमा ध्यान आकर्षण गराएको पनि हो।

नेपाली कांग्रेसका सांसद एवम् कांग्रेस संसदीय दलका सचेतक मिन विश्वकर्माको संयोजनमा एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री सेर बहादुर देउवालाई ध्यान आकर्षण पत्र बुझाउँदै झापाको दमकमा चीन सरकारको लगानीमा निर्माण गर्ने भनिएको दमक क्लिन पार्क ( नेपाल – चीन मैत्री पार्क) के हो ? र स्थानिय उपभोक्तालाई यस विषयमा केही थाहा नदिएको साथै ने क पा एमालेका कार्यकर्ताले धन आर्जन गर्ने थलो बनाएकोले दमक क्लिन पार्कको हालसम्मको खर्च र आगामी बजेटको बारेमा झापामा रहेका सबै राजनैतिक दललाई जानकारी दिलाउन प्रधानमन्त्री देउवालाई अनुरोध गरेका छन्।

उक्त प्रतिनिधि मण्डलले जग्गादाताहरूलाई जग्गाको मुआब्जामा समेत पक्षपात गरेकोले एउटा व्यवस्थापन समिति गठन गर्नु पर्ने माग पनि गरेको छ। उक्त प्रतिनिधि मण्डलले बनिन लागेको उक्त पार्क एउटा अवैधानिक सम्झौता रहेको बताउँदै यस परियोजनाको वास्तविकता खुलाउनु पर्ने पनि माग गरेको छ।

यसको साथै प्रतिनिधि मण्डलले गृहमन्त्रीलाई यस विषयमा ध्यानकेन्द्रित गराउँदै क्लीन पार्कको मुआब्जामा पक्षपात गरिएको र मुआब्जा निर्धारणमा पुनर्मूल्याङ्कन गर्नु पर्ने कुरा अवगत गराएको छ।
सङ्घर्ष समितिले चिनियाँ लागतमा निर्माण हुन लागिरहेको उक्त पार्कको भित्री कथा सबै सामु छर्लङ्ग हुनु पर्ने माग गर्दै पीडितको आवाजलाई सरकारले सुनेर सुनुवाई गर्नु पर्ने माग पनि दोहोऱ्याएको छ।

प्रतिनिधि मण्डलमा प्रतिनिधि सभा सदस्य महिन्द्रा कुमारी लिम्बू, दमक नगरपालिकाका मेयर रामकुमार थापाउप मेयर रेगिना भट्टराईमाओबादी नेता गगन पूरी, क्लिन पार्क सङ्घर्ष समितिका अध्यक्ष खगेन्द्र भट्टराईसदस्यहरू रोम भण्डारी, मदन प्रसाई, प्रकाश थापा, नेपाली कांग्रेस दमक सचिव दिपेश दहालको विशेष सहभागिता रहेको थियो।
चीन सरकारको विस्तारवादी नीतिलाई गहिरोसँग बुझ्न अति आवश्यक छ। विकासको गोरेटोमा हिड्दै गरेको राष्ट्रहरूलाई आफ्नो जालझेलमा पारेर स्वाहा पार्ने नीति अप्नाउने चीनको चक्रव्यूहबाट जोगाउनु अहिलेको परिदृश्यमा महत्त्वपूर्ण कुरा हो। श्रीलङ्का पाकिस्तानजस्ता मानव संशाधनले भरिपूर्ण राष्ट्रलाई पनि कंगालीको मोडमा ल्याएर छोडेको चीनको निशानामा कतै नेपाल पनि परिरहेको छैन भनेर उचित पहल चाल्नु नै राष्ट्र हितमा काम गर्नु हो।

वान बेल्ट वान रोड परियोजनाअन्तर्गत निर्माण हुन गइरहेको उक्त पार्क पनि कतै चीनको उक्त मनसायकै एउटा अङ्ग हो भन्ने कुराको पनि छानबिन हुन आवश्यक ठहर्दछ। यसैले चीनको भित्री मनसायलाई बुझेर राष्ट्र सुरक्षालाई पनि ध्यानमा राख्नु अत्यन्त जरूरी देखिएको छ।

Leave A Reply

Your email address will not be published.