Online News Portal

नेकपाको माधव–प्रचण्ड पक्षमा रहेर अध्यक्ष केपी शर्मा ओलीको उछित्तो काढेका पूर्वउपाध्यक्ष डा. भीम रावल अहिले ‘घरको न घाटको’ अवस्थामा पुगे

240

तत्कालीन नेकपाको माधव–प्रचण्ड पक्षमा रहेर अध्यक्ष केपी शर्मा ओलीको उछित्तो काढेका पूर्वउपाध्यक्ष डा. भीम रावल अहिले ‘घरको न घाटको’ अवस्थामा पुगेका छन्। एमालेबाट रावलले टिकटै नपाउने अवस्था उत्पन्न भएको छ।

सधै ओलीको विरोधी कित्तामा रहेर आलोचना गर्ने रावल माधव कुमार नेपालले पार्टी फुटाउने निर्णय गरेपछि भने १० बुँदे सहमति गरेर एमालेमै रहेका थिए। तर, त्यसपछि पनि उनले निरन्तर अध्यक्ष ओलीको विरोध गरिरहे। कुनै कमिटिमा नरहेका कारण उनी पार्टी गतिविधिमा पनि निस्कृय जस्तै छन्।

एमालेभित्र ओलीविरोधी कित्तामा उभिएका रावलबाट सुदूरपश्चिमको इन्चार्ज समेत खोसियो। माओवादीबाट एमालेमा समाहित भएका लेखराज भट्टलाई रावलको स्थानमा पु-याएपछि उनी पार्टीको कुनै कमिटीमा छैनन्। तर, राष्ट्रवादी छवि र सार्वजनिक महत्वको मुद्दामा आवाज उठाएर चर्चामा भने आइरहन्छन्।

उनको यही छवी उनका लागि समस्या बन्न सक्ने खतरा देखिएको छ। रावलको कमजोरीको फाईदा उठाएर आसन्न प्रतिनिधि सभाको निर्वाचनमा उनको विकल्पमा उम्मेदवार खोज्न थालिएको छ। उसो त प्रतिनिधि सभा चुनावका लागि अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ रावलको एकल नाम सिफारिस भएको छ। तर, नेतृत्वले भने रावललाई अछाममा टिकट दिने वा नदिने अझै निर्णय गरेको छैन।

एमाले सुदूरपश्चिमका नेताहरुले रावल पार्टी नीति नियमविपरीत चलेकोले उनको विकल्पमा जानुपर्ने सुझाव ओलीलाई दिएका छन्। रावल अछामबाट सर्वसम्मत सिफारिस भए पनि पार्टीका कुनै बैठक, छलफलमा सहभागी नभएको र सम्पर्कमै नरहेकाले त्यस्ता ब्यक्तिलाई उम्मेदवार बनाउँदा समस्या उत्पन्न हुने होकी भन्ने नेताहरुको चिन्ता छ।

रावलको विकल्पमा नेता कृष्ण जैसीलाई हेरिएको छ। सोमबार साँझ ओलीलाई भेट्न पुगेका एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसहितको टोलीले पनि करिब एक घण्टा रावलकै विषयमा छलफ गरेको थियो। ओलीले पनि सुदूरपश्चिमका नेताहरुसँग ‘रावल कसरी सर्वसम्मत उमेदवार सिफारिस भए’ भन्ने विषयमा चासो राखेका थिए।

अछामबाट सर्वसम्मत सिफारिसमा परेपछि रावललाई टिकट दिनै पर्ने दबाब पनि छ। तर चितवनमा भएको १० औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेपछि उनीहरुको विचमा सम्वन्ध खुलस्त छैन।

उनी अछामबाट ०४८ सालदेखि नै चुनाव लडिरहेका छन्। ०४८ सालमा चुनाव हारेका रावल ०५१ सालको मध्यावधि चुनावमा अछाम १ बाट निर्विाचित भएका थिए। ०५६ सालको चुनावमा एमाले–माले फुटेको कारण फेरि चुनाव हारे। त्यसपछि ०६४ को चुनावमा उनी समानुपातिकतर्फ लागे। ०७० र ०७४ को चुनावमा रावलले क्षेत्र नम्बर १ बाटै लगातार चुनाव जितेका थिए।

Leave A Reply

Your email address will not be published.