Online News Portal

एमालेले समानुपातिकमा छानेका ३४ सांसद को हुन्, के हो उनीहरूको विगत?

227

प्रतिनिधि सभामा समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएको नेकपा (एमाले) ले आफूले पाएका ३४ जना सांसद छानेर निर्वाचन आयोगमा पठाएको छ। निर्वाचन आयोगले ठूलो हेरफेर नगर्ने भएकाले एमालेले पठाएका यी ३४ मध्ये धेरै जना सांसद बन्ने पक्का छ।

एमालेले समानुपातिक छानेकाहरूमध्ये पार्टीमा लामो समय योगदान गरेकादेखि निर्वाचनको मुखमा पार्टी प्रवेश गरेकाहरूसम्म रहेका छन्।  यस्तो छ उनीहरूको विगत:

१. रघुजी पन्त

रघुजी पन्त एमालेका स्थायी कमिटी सदस्य हुन्। उनी यसअघि २०५१ र २०५६ मा ललितपुरबाट निर्वाचित सांसद हुन्। २०६४ र २०७०मा भने उनी सोही क्षेत्रबाट पराजित भएका थिए। उनी एक पटक मन्त्री भइसकेका छन् भने २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लहाकार थिए। लामो समयसम्म नेपाल निकट रहेका पन्त एमाले विभाजन हुँदा भने उनले नेपाललाई साथ दिएनन्।

२. एकनाथ ढकाल

पहिलो र दोस्रो संविधान सभामा परिवार दलबाट सांसद बनेका एकनाथ ढकालले अहिले एमालेबाट सांसद बन्ने अवसर पाएका छन्। उनी खसआर्य कोटाबाट सांसद बनेका हुन्। ढकाल युनिफिकेसन चर्चसँग जोडिएका व्यक्ति हुन्। उक्त चर्चका नाममा उनले नेपालमा विभिन्न कार्यक्रम गरिरहेका छन्। २०७५ मंसिरमा ढकालको युनिफिकेसन चर्चले काठमाडौंमा एसिया प्यासिफिक सम्मेलन गरेको थियो। उक्त सम्मेलनका नेपालका सबै राजनीतिक दलका प्रमुख नेताहरू सहभागी भएको र उनीहरूले ‘होली वाइन’ पिएको भन्दै आलोचना भएको थियो।

३. दयालबहादुर शाही

एमालेका केन्द्रीय सदस्य दयालबहादुर शाही पार्टीमा लामो समयदेखि सक्रिय व्यक्ति हुन्। उनी बाजुराको जिल्ला सचिवसमेत भइसकेका छन्। माधव नेपाल महासचिव हुदाँ उनी कारबाहीमा परेका थिए। समसायिक राजनीतिक विषयमा कलम चलाउने शाही ओलीका कट्टर समर्थक हुन्। उनले भाषा र बोल्ने शैलीसमेत ओलीको नक्कल गर्छन्।

४. मेनकाकुमारी पोखरेल

दाङकी मेनकाकुमारी पोखरेलले एमालेको विद्यार्थी संगठनको राजनीति गरेकी हुन्। पञ्चायतकालमै राजनीति आन्दोलनमा सहभागी भएकी पोखरेल अहिले एमालेको केन्द्रीय सदस्य छन्। उनी एमाले दाङकी सहइन्चार्ज हुन्। उनी एमाले महासचिव शंकर पोखरेलकी बहिनी पनि हुन्। अखिलमा उनी आफ्ना दाजु शंकर पोखरेलभन्दा पहिला लागे पनि बहुदल आएपछि भने शिक्षण पेशमा संलग्न थिइन्।

५. सरिता भुसाल

एमाले केन्द्रीय सदस्य सरिता भुसाल पश्चिम नवलपरासीकी हुन्। उनी अखिल नेपाल किसान महासंघमा आबद्ध छन्। उनी लामो समय शिक्षण पेशमा आवद्ध थिइन्। भुसाल जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रीय सदस्य बनेकी हुन्। अर्घखाँचीमा जन्मिएकी भुसाल पारिवारिक पृष्ठभूमिबाटै राजनीतिमा आएकी हुन्। भुसालका श्रीमान् बद्री खनाल एमाले स्कुल विभाग सदस्य छन्।

६. शोभा ज्ञवाली

बर्दियाकी शोभा ज्ञवाली विद्यार्थी कालदेखि राजनीतिमा सक्रिय छन्। पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय ज्ञवाली २०५४ मा एमाले र माले विभाजन हुँदा मालेमा आवद्ध भएकी थिइन्। एमालेकै राजनीतिमा निरन्तर रहेकी ज्ञवाली अहिले एमाले केन्द्रीय सदस्य हुन्।

७. विजुला रायमाझी

अर्घखाँचीकी विजुला रायमाझी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन्। उनी अनेमसंघमा समेत आबद्ध छन्। उनको पारिवारिक पृष्ठभूमि एमाले हो। उनका श्रीमान् बुद्धि रायमाझी पञ्चायतकालमा संघर्ष गरेका नेता हुन्। बुद्धि रायमाझीको निधन भइसकेको छ।

८. निर्मला कोइराला

निर्मला कोइराला एमालेकी केन्द्रीय सदस्य हुन्। सिन्धुलीमा जन्मिएकी कोइरालाले बारामा सक्रिय राजनीति गर्छिन्। उनी एमालेमा लामो संघर्ष गरेकी नेता हुन्। कोइराला राष्ट्रपति विद्यादेवी भण्डारीसँग निकट सम्बन्ध रहेकी नेतासमेत हुन्।

९. सम्झना थपलिया

सिराहाकी सम्झना थपलिया गैरसरकारी क्षेत्रमा आवद्ध छन्। उनी एमालेमा सक्रिय नभए पनि एमाले पृष्ठभूमिकी हुन्।समाजसेवामा सक्रिय रहेकी थपलिया यसपटक समानुपातिक सांसद बनेकी हुन्।

१०. दीपा शर्मा

दैलेखकी दीपा शर्मा एमाले अखिलको राजनीतिबाट आएकी हुन्। उनी अखिलको सचिवालय सदस्यसम्म भएकी थिइन्। राष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालयमा रहेर काम गरेकी शर्माले समानुपातिक सांसदको अवसर पाएकी छन्।

११. सुनिता बराल

एमाले विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष  सुनिता बराल झापाकी हुन्। उनी एमालेको दसौं महाधिवशेनबाट केन्द्रीय सदस्य बनेकी हुन्।

१२. देवीप्रसाद भट्टचन

व्यापारिक पृष्ठभूमिका देवीप्रसाद भट्टचनले एमालेको राजनीति गरेका होइनन्। स्रोतका अनुसार उनी कांग्रेसको समानुपातिक कोटामा समेत परेका थिए। तर कांग्रेसले आदिवासी-जनजाति क्लस्टरको तेस्रो नम्बरमा राखेपछि उनी एमालेको सूचीमा बसेका हुन्। भट्टचनलाई एमालेले जनजाति क्लस्टरको पहिलो नम्बरमा राखेको थियो।

१३. हेमराज राई

एमालेको समानुपातिक कोटाबाट सांसद बनेका हेमराज राई गत भदौमा मात्रै पार्टी प्रवेश गरेका हुन्। त्यसअघि उनी जसपाको कार्यकारिणी सदस्य थिए। सबभन्दा रोचक त के छ भने उनी गत माघमा जसपाको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका थिए। तत्कालीन ५ दलीय सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राई एमालेका सोनाम ग्याल्जेन शेर्पासँग पराजित भए। देशभरि १९ सांसदका लागि भएको निर्वाचनमा गठबन्धनका तर्फ उम्मेदवार बनेका राई मात्रै पराजित भएका थिए।

राईको राजनीतिक पृष्ठभूमि एमाले नै हो। उनी २०४८ र २०५१ सालमा एमालेको तर्फबाट खोटाङबाट विजयी भएका थिए। २०६९ सालमा उनले तत्कालीन एमाले उपाध्यक्ष अशोक राईसँगै पार्टी परित्याग गरेका हुन्।

१४. कालुराम राई

प्राध्यापक डाक्टर कालुराम राईले मेची बहुमुखी क्याम्पस झापाबाट अवकाश पाएका हुन्। उनी जीव वैज्ञानिकसमेत हुन्।भ्यागुताका विषयमा पिएचडी गरेका राईको नाममा कतिपय प्रजातिका भ्यागुताको नाम समेत राखिएको छ।

१५. नैनकला थापा

माओवादी केन्द्र र  एमालेको एकता खारेज भएपछि एमाले बनेकी नैनकला थापाले सांसद बन्ने अवसर पाएकी छन्। उनी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ की श्रीमती हुन्। नैनकलाले केपी शर्मा ओली नेतृत्वको सरकारमा केही दिन सञ्चारमन्त्री हुने अवसर पाएकी थिइन्।

१६. सूर्यकुमारी श्रेष्ठ

दैलेखकी सुर्यकुमारी श्रेष्ठ एमाले केन्द्रीय सदस्य हुन्। उनी एमाले दैलेखकी सहइन्चार्जसमेत हुन्। एमालेको जिल्ला कमिटीदेखि आवद्ध हुँदै आएकी श्रेष्ठ राजनीतिमा संघर्ष गरेकी महिला हुन्। उनी अनेमसंघ दैलेखको अध्यक्षसमेत बनेकी थिइन्।

१७. उर्मिला थेवे

थेवे एमाले केन्द्रीय सदस्य हुन्। उनी ताप्लेजुङ सहइन्चार्ज समेत हुन्। उनका श्रीमान भुपेन्द्र थेवे एमाले ताप्लेजुङका अध्यक्ष हुन्। छोरा क्षितिज थेवे युवा संघका महासचिव छन्।

१८. ईश्वरी घर्ती

ईश्वरी घर्ती एमाले अखिलकी पूर्वकेन्द्रीय सदस्य हुन्। उनी रोल्पामा सक्रिय राजनीति ‍गर्छिन्। एमालेनिकट प्रेस चौतारीमा आवद्ध घर्तीले पत्रकारितासमेत गरेकी हुन्।उनी  अहिले अखिल नेपाल महिला संघमा आवद्ध छन्।

१९. रणकुमारी बलाम्पाकी मगर

एमालेका तर्फबाट समानुपातिक सांसद बनेकी रणकुमारी बलाम्पाकी मगर सिन्धुलीकी हुन्। उनी एमाले केन्द्रीय अनुशासन आयोगकी सदस्यसमेत हुन्। मगर बागमती प्रदेश सम्पर्क कमिटीको सचिवसमेत भइसकेकी छन्। उनी विद्यार्थी राजनीतिमा सक्रिय थिइन्। योभन्दा अघिल्लो पटकसमेत उनी समानुपातिक सूचीमा रहेर पनि सांसद बन्न पाएकी थिइनन्।

२०. शान्ति श्रेष्ठ

काठमाडौं क्षेत्र नं ३ की  श्रेष्ठ एमालेकी पुरानो नेता हुन्। उनले अखिल जिल्ला कमिटीदेखि पार्टी जिल्ला कमिटीमा काम गरेकी हुन्। पार्टीमा तल्लो तहमा सक्रिय रहेर काम गरे पनि उनले कुनै भूमिका पाएकी थिइनन्। २०७४ र २०७८ मा काठमाडौं महानगरमा उपमेयर उम्मेदवारको रूपमा चर्चामा आए पनि उनी उम्मेदवार बन्न पाइनन्।

२१. सरस्वती सुब्बा

सरस्वती सुब्बा सर्लाहीकी हुन्। उनी भूमि अधिकारकर्मी हुन्। सुकुम्बासीका पक्षमा आवाज उठाउँदै आएकी उनी एमालेमा सक्रिय छन्। सामाजिक सञ्जालमा समेत उनी विशेष गरेर एमाले अध्यक्ष केपी ओलीको पक्षमा वकालत गर्छिन्।

२२. आश्माकुमारी चौधरी

दाङकी आश्माकुमारी चौधरी पञ्चायत विरूद्धको आन्दोलनमा सक्रिय महिला हुन्। सामान्य साक्षर मात्रै उनी गरिब परिवारकी महिला हुन्। उनी अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य छन्। विवाह नुहँदै उनी राजनीतिमा लागेकी थिइन्। भूमिगत कालमा उनी ठूला नेताहरूका लागि ‘सेल्टर दाता’ थिइन। उनका श्रीमान् लौटन चौधरी एमालेको जिल्ला कमिटी सदस्य छन्।

२३.शान्ति चौधरी

बर्दियाकी शान्ति चौधरी माओवादी पृष्ठभूमिकी हुन्। माओवादी जनयुद्धमा समेत सहभागी भएकी चौधरी पार्टीको प्रदेश कमिटी सदस्य समेत थिइन्। गत साउन १७ गते माओवादी परित्याग गरी एमाले प्रवेश गरेकी चौधरीले सांसद बन्ने मौका पाएकी छन्।

२४.ईश्वरबहादुर रिजाल

दोलखाका ईश्वरबहादुर रिजाल एमाले पोलिटब्युरो सदस्य हुन्। उनी एमाले स्कुल विभागका उप-प्रमुख समेत हुन्। नेकपाकालीन समयमा उनी नेकपाको पार्टी कार्यालय सचिव बनेका थिए। एमालेमा उनी वैचारिक नेता मानिन्छन्।

२५. प्रभु हजारा पासवान

पर्साका प्रभु हजारा पासवान वीरगञ्जको नगर कमिटी आवद्ध भएर पार्टी काम सुरू गरेका हुन्। उनी एमालेमा निरन्तर संघर्ष गरेका व्यक्ति हुन्। मधेशमा एमाले अफ्ठ्यारोमा परेको बेलामा समेत उनी पार्टीमै सक्रिय थिए। उनी पर्सा इन्चार्ज तथा केन्द्रीय सदस्य हुन्। सांसद भने पहिलो पटक भएका हुन्।

२६. चन्द्रबहादुर विश्वकर्मा

रूकुम पश्चिमका चन्द्रबहादुर विश्वकर्मा माओवादी पृष्ठभूमिका नेता हुन्। उनी माओवादीबाट दलित मुक्ति मोर्चाका कर्णाली प्रदेश इन्चार्जसमेत बनेका थिए। सर्वोच्च अदालतले एमाले र माओवादी एकता भंग गरिदिएपछि उनी एमाले प्रवेश गरेका हुन्।

२७. रुक्मणी राना बराइली

काभ्रेमा तल्लो तहबाट राजनीति सुरू गरेकी रुक्मणी राना बराइली बागमती प्रदेश कमिटी सदस्यसमेत हुन्।

२८. हर्कमाया विश्वकर्मा

हर्कमाया विश्वकर्मा एमाले झापा जिल्ला कमिटी सदस्य हुन्। अहिलेसम्म कुनै लाभको पदमा नपुगेकी विश्वकर्मा ग्रासरूटमा काम गरेकी नेता हुन्।

२९. गंगाप्रसाद यादव

गंगाप्रसाद यादव एमालेका केन्द्रीय सदस्य तथा सिराहा जिल्ला इन्चार्जसमेत हुन्। उनी आठौं महाधिवेशनदेखि एमाले केन्द्रीय सदस्य छन्। यसअघि २०७४ मा उनी सिराहा क्षेत्र नं १ बाट पराजित भएका थिए। पञ्चायतकालदेखि राजनीतिक आन्दोलनमा लागेका यादवले भूमिगत जीवनसमेत बिताएका छन्।

३०. अमृतलाल राजवंशी

पहिलो र दोस्रो दुबै संविधान सभामा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका अमृतलाल राजवंशी अहिले एमालेका तर्फबाट सांसद बनेका छन्। उनी गत वर्ष कांग्रेसको महाधिवेशनमा असन्तुष्ट बनेर एमाले छिरेका थिए। झापाका राजवंशी ओलीको रोजाइमा परेपछि सांसद बन्न पाएका हुन्।

३१. विना देवी

रौतहटकी विना देवीले अखिल नेपाल महिला संघबाट राजनीति सुरू गरेकी हुन्। जिल्ला पार्टीमा सक्रिय उनी जिल्ला कमिटी सदस्य भइसकेकी छन्। उनी अहिले एमालेको मधेस प्रदेश कमिटी सदस्य छन्।

३२.अमृता अग्रहरी

एमालेबाट मधेशी कोटामा सांसद बनेकी अमृता अग्रहरी यसअघि जनता समाजवादी पार्टीमा थिइन्।

उनी २०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट सांसद बनेकी थिइन्। राजपा र समाजवादी पार्टीको एकताबाट जसपा बनेर पुनः विभाजन भएपछि उनले जसपा नै रोजेकी थिइन्।

जसपामा बाबुराम भट्टराई र उपेन्द्र यादवको अन्तरसंघर्ष हुँदा अग्रहरी भट्टराईको पक्षमा थिइन्। अन्तिम समयमा यादवसँगै रहेकी अग्रहरी यसपालि चुनावको मुखमा मात्रै एमाले प्रवेश गरेकी हुन्।

उनै अग्रहरी अहिले सांसद बन्न सफल भइन्। लगातार दुई पार्टीबाट सांसद बन्ने अवसर अग्रहरीले पाएकी छन्।

३३.प्रतीक्षा तिवारी मुखिया

मधेशी कोटाबाट सांसद बनेकी प्रतीक्षा तिवारी मुखिया पनि दोस्रो संविधान सभामा माओवादीबाट समानुपातिक सांसद बनेकी थिइन्। २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा भंग गरिदिएपछि उनी एमाले प्रवेश गरेकी हुन्। उनै तिवारीले अहिले एमालेबाट अवसर पाएकी छन्।

३४.सराज अहमद फारुकी

कपिलवस्तुका सराज अहमद फारुकी एमालेनिकट मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष हुन्। उनी एमाले केन्द्रीय सदस्यसमेत हुन्। लामो समयदेखि एमालेमै सक्रिय रहेका सराज यस पटक सांसद बन्न सफल भएका छन्। उनी पूर्वसांसद मिर्जा दिल सादबेगका ज्वाइँसमेत हुन्।

Leave A Reply

Your email address will not be published.